झापा । आज देशभर श्रद्धा श्रीपञ्चमी (सरस्वती पूजा) मनाइँदै छ । विद्या, कला, वाणी र चेतनाको प्रतीक मानिने देवी सरस्वतीको उपासना गर्दै विद्यार्थी, सर्जक र ज्ञानसँग जोडिएका सबै समुदायले यो पर्व विशेष रूपमा मनाउने गर्छन्।

शास्त्रीय मान्यताअनुसार, ब्रह्मवैवर्त पुराण मा भगवान् श्रीकृष्णले आजकै दिन सरस्वतीको स्मरण र पूजा गर्न वरदान दिएको उल्लेख पाइन्छ । यहीँ विश्वासअनुसार बिहानै स्नान गरी स्वच्छ वस्त्र धारण गरेर कलश स्थापना, गणेश–विष्णु–शिवको अर्चना पश्चात् सरस्वतीको पूजा गरिन्छ । सूर्यलाई अर्घ्य दिने परम्परा पनि यस दिनसँग जोडिएको छ।

विद्यालयहरूमा आजको दिन विशेष रौनक देखिन्छ । विद्यार्थीहरू रंगीन पोसाकमा विद्यालय पुग्छन्, पुस्तक, कापी, कलम र वाद्ययन्त्रको पूजा गरिन्छ। कतिपय स्थानमा सामूहिक प्रसाद वितरण, सांस्कृतिक कार्यक्रम तथा शाकाहारी भोजनको आयोजना हुने परम्परा छ। तराई क्षेत्रमा बुनियाँ, बयर तथा मौसमी फलफूल प्रसादका रूपमा बाँडिने चलन छ।

अक्षरारम्भ र सिर्जनाको सम्मान

श्रीपञ्चमी साना बालबालिकाका लागि अक्षरारम्भ गरिने दिनका रूपमा पनि महत्वपूर्ण मानिन्छ। पहिलो पटक अक्षर चिनाउने संस्कार यहीँ दिन गरिन्छ, जसलाई ज्ञान यात्राको औपचारिक सुरुवातका रूपमा हेरिन्छ।

यसैगरी, लेखक, कलाकार, गायक, संगीतकारदेखि मिस्त्री, मूर्तिकार र विभिन्न सर्जनात्मक पेशामा आबद्ध व्यक्तिहरूका लागि आजको दिन आफ्ना सिर्जनाका औजारको पूजा गर्ने विशेष अवसर हो । कलम, कागज, मसी, वाद्ययन्त्रजस्ता साधनको पूजा गर्दै सकारात्मक सोच र सिर्जनात्मक ऊर्जाको कामना गरिन्छ।

वसन्त ऋतुको संकेत

श्रीपञ्चमीसँगै वसन्त ऋतुको आगमन सुरु भएको मानिन्छ। कठोर जाडो क्रमशः बिदा हुँदै न्यानोपन, कोइलीको कूकुहू र नयाँ जीवनचक्रको संकेत देखिन थाल्छ। यही कारण यो पर्वलाई प्रकृति, जीवन र चेतनाको पुनर्जागरणसँग पनि जोडेर हेरिन्छ।