झापा । चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि तथा अप्रिय घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाले सुरक्षा व्यवस्थालाई सक्रिय बनाएको छ।
सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अनुसार सीमावर्ती क्षेत्रसहित जिल्लाका विभिन्न स्थानमा स्रोतसाधन र प्रविधिसहितको सुरक्षा तैनाथी बढाएको हो । चाडपर्वका समयमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा ड्रोनमार्फत सूचना संकलन र निगरानीको व्यवस्था मिलाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुजित विष्टले जानकारी दिए।
नेपाली नागरिक तथा नेपाल प्रवेश गर्ने पर्यटकको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न तथा विपद्मा परेका नागरिकको उद्धारमा सहयोग पुर्याउन जिल्लाका सात स्थानका सीमा नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। काँकडभिट्टा नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषध पहिचान गर्न सक्ने तालिमप्राप्त स्निफिङ डग (के–९ टोली) समेत परिचालन गरिएको छ।
सशस्त्र प्रहरीले चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरणका लागि माइकिङ र सीमावासीसँग अन्तरक्रियामार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
त्यस्तै, जिल्लाका मुख्य तथा सहायक राजमार्गमा हुन सक्ने घटना र दुर्घटना न्यूनीकरण तथा तत्काल उद्धारका लागि तीन स्थानमा एम्बुलेन्ससहितको आकस्मिक उद्धार टोली परिचालन गरिएको छ। गोप्रो क्यामेरासहितको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) ले सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहजीकरण गर्नुका साथै मानव बेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागुऔषध, वन्यजन्तु र अन्य अवैध सामग्रीको निगरानी तथा नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरिरहेको सूचना अधिकारी विष्टले बताए।
विशेष सुरक्षा योजनाअन्तर्गत झापामा दैनिक २० स्थानमा चेकपोइन्ट, १६ स्थानमा पैदल तथा मोबाइल गस्ती र पाँच स्थानमा पिकेट परिचालन गरिएको छ। यसका साथै तीनवटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) तथा एम्बुलेन्ससहित तीनवटा विपद् उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
आपत्कालीन अवस्था वा विपद्मा परेका नागरिकले सहयोगका लागि सशस्त्र प्रहरी बल नेपालको टोल फ्री नम्बर १११४ तथा सीमा हटलाइन नम्बर ९८५१२६०७३० मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।





