बिर्तामोड । सर्वसाधारणको स्वास्थ्य सेवामा ध्यानदिँदै दशैंकाे समयमा झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालले निरन्तरता उपचार सेवा दिने भएको छ ।
अस्पतालले कात्तिक २ गतेदेखि ५ गतेसम्म अर्थात् अष्टमीदेखि एकादशीसम्म चार दिन आकस्मिक कक्षमार्फत विशेषज्ञ चिकित्सकसहितको उपचार सेवालाई निरन्तरता दिने भएको हो । अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीका अनुसार चाडपर्वको समयमा पनि बिरामीले सहज रूपमा उपचार सेवा पाऊन् भन्ने उद्देश्यले बिदाका दिनमा समेत अस्पतालको सेवा सञ्चालनमा राख्न लागिएको हो । यस अवधिमा आकस्मिक सेवासँगै रेडियोलोजी, प्रयोगशाला तथा अन्तरङ्ग सेवा पनि नियमित रूपमा सञ्चालन हुनेछन्।
चाडपर्वका बेला सवारी दुर्घटनाबाट हुने चोटपटक, हृदयाघात, खाना अपच, झाडापखालालगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विशेषज्ञ चिकित्सकसहितको उपचार व्यवस्था मिलाइएको गिरीले जानकारी दिए।
दशैंको बिदामा अस्पताल बन्द हुने आशंकाले बिरामी उपचारबाट वञ्चित हुने वा अन्योलमा पर्ने अवस्थाको अन्त्य गर्न सेवा सञ्चालनबारे जानकारी गराइएको उनको भनाइ छ।
अस्पतालका अन्य नियमित सेवाहरू बन्द वा सीमित हुन सक्ने भए पनि बिरामीलाई उपचारमा असहज नहोस् भनेर आकस्मिक कक्षलाई थप व्यवस्थित र चुस्त बनाइएको गिरीले जानकारी दिए। उनका अनुसार आकस्मिक कक्षमा थप डेस्कको व्यवस्था गरी ओपीडीमार्फत सेवा लिनुपर्ने बिरामीलाई समेत उपचार सेवा उपलब्ध गराइनेछ। दशैंको उल्लाससँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै बीएण्डसी अस्पतालले बिदाका दिनमा समेत उपचार सेवा निरन्तर राख्ने तयारी गरेको छ।





