बिर्तामोड । झापाको बिर्तामोडमा मंगलबार भएको ‘ग्याङ फाइट’ घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड–५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बस स्ट्यान्डसम्म पुगेको थियो ।

कलेजको पोसाकमा रहेका आठ जना युवाहरुबीच सुरुमा कनकाई कलेज उत्तर देवी माविको छेउमा झगडा परेको थियो । देवी माविका शिक्षकहरूले गाली गरेपछि उनीहरूको झगडा त्यहाँ साम्य भएको थियो ।

उनीहरूको झगडापछि भद्रपुर बस स्ट्यान्डसम्म पुगेको थियो । सुरुमा इँटा प्रहारबाट सुरु भएको ग्याङ फाइटमा खुकुरी प्रयोग भएको सूचना लगत्तै पुगेको प्रहरीले घटनास्थलबाट युवाहरूलाई नियन्त्रणमा लिएको हो ।

घटनास्थलबाट चार जना युवाहरूलाई खुकुरीसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पक्राउ पर्नेहरूमा भद्रपुर २ का १९ वर्षीय आदित्य राई, भद्रपुर १ बस्ने २६ वर्षीय संजोक लिम्बू, सोही ठाउँका १८ वर्षीय दीपेश पुन मगर र २२ वर्षीय रोहण लिम्बू रहेका छन् । घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक रमेश राईले बताए