झापा । झापाको बिर्तामोडमा एक दिने पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न भएको छ । सञ्चार क्षेत्रमा एआई प्रविधिको प्रयोग बढिरहेका बेला पूर्बाञ्चल राष्ट्रिय दैनिकको आयाोजनामा झापाको विर्तामोडमा प्रशिक्षण सम्पन्न भएको हो ।
नेपालमा एआई प्रविधिको प्रयोग तथा विश्वले पत्रकारिता क्षेत्रमा प्रयोगमा ल्याएको अवस्थाका विषयमा कार्यक्रमका प्रशिक्षकसमेत रहेका सञ्चारविद एवम् अटवा विश्वविद्यालय क्यानडाका प्राध्यापक डा. भानुभक्त आचार्यले जानकारी गराएका थिए ।
समाचार लेखन तथा विभिन्न खोजमुलक विषयमा एआई प्रविधि उपयोगी हुने भन्दै यसको सही सदुपयग गरेमा पत्रकारिता क्षेत्रको विकासमा टेवा पुग्ने सहजकर्ता आचार्यले बताए । छिमेकी राष्ट्र भारत , चीन लगायत विकसित मुलुकले पत्रकारिता क्षेत्रमा एआई प्रविधिको सुरुवात गरेपनि नेपालमा यसको प्रयोग कमै मात्रामा हुने गरेको उनको भनाई छ ।
प्रविधिको प्रयोगसंगै अनलाइन पत्रकारिताले प्राथमिकता पाइरहेको समयमा एआई प्रविधि मार्फत यसलाई अझ सरल र सहज बनाउन सकिने सञ्चारविज्ञ आचार्यको भनाई छ । उनले एआई प्रविधिको प्रयोग प्रशिक्षणस्थलमा नै प्रशिक्षण गराएका थिए ।
इलाम र झापाका ४५ जना पत्रकारहरुको सहभागीता रहेको तालिममा सहभागीहरुका तर्फबाट पत्रकार गणेशमान मुखिया, रञ्जीत प्रसाई, स्वस्तिका आचार्य, गणेश अर्याल, गृष्मा सापकोटा लगायतले आफ्नो अनुभवहरु बताएका थिए ।
पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधानसम्पादक एकराज गिरीले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीले गरेका थिए ।
बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा सहभागीहरुले एआई प्रविधिको प्रयोग र यसले पार्ने प्रभावका विषयमा जानकारी प्राप्त भएको र आगामी दिनमा आफूले सिकेको ज्ञानलाई प्रयोगमा ल्याउने जनाएका छन् ।























































