झापा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि रकम सहयोग गर्ने क्रममा सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रकम ट्रान्सफरमा त्रुटि भएको जनाएको छ । सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रममा आफ्नो संस्थाले योगदान गर्नुपर्ने रकमभन्दा बढी रकम गल्तीवश ट्रान्सफर भएको भन्दै रकम फिर्ताका लागि अनुरोध गरेको हो ।

सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई पठाएको पत्रमा संस्थाले रु. १ लाख १ हजार १ रुपैयाँ योगदान गर्ने निर्णय गरेको उल्लेख गरेको छ । तर, Connect IPS मार्फत रु. १० लाख १ हजार १ रुपैयाँ ट्रान्सफर भएको पत्रमा उल्लेख छ ।

गल्तीवश बढी रकम ट्रान्सफर भएको भन्दै सहकारीले बढी गएको रकम फिर्ता गरिदिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषसँग आग्रह गरेको छ । साथै, संस्थाले योगदान गर्ने वास्तविक रकम रु. १ लाख १ हजार १ रुपैयाँ छुट्टै ट्रान्सफर हुने जानकारीसमेत गराएको छ ।

सहकारीका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेको पत्रमा Connect IPS बाट भएको कारोबारको विवरणसमेत संलग्न गरिएको उल्लेख छ ।