झापा । हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका झापाको बाहुण्डाँगीका १६ वर्षीय सागर ढकालको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । सागर ढकालका बुवा इन्द्रप्रसाद ढकालले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै छोराको उपचारका लागि आर्थिक भएकाले सहयोग गर्न मनकारीहरुलाई अपिल गरेका हुन् । हात्ती आक्रमणपछि ६ महिना भन्दा बढी नियमित विर्तामोडस्थित विएण्डसी अस्पतालको वेडमा उपचारर्थ रहेकाले आर्थिक अभाव भएको सागरका बुवाको भनाई छ ।
आफ्नो जायजेथा छोराको उपचारका लागि विक्री गरिसकें । सरकार र स्थानीयले गरेका आर्थिक सहयोग सबै उपचारमै खर्च भइसक्यो । दैनिक ६० हजारबढीको खर्च आउने अस्पताल प्रशासनले जनाएको छ, ‘इन्द्रप्रसाद ढकालले भने, अब म के गरौं र्? जो सँग सहयोग गर्ने मन छ, देश तथा विदेशमा रहनुहुने सहयोगी मनहरुले मेरो क्युआरमा आर्थिक सहयोग पुर्याइदिन अपिल गरेको हुँ ।’
एक मात्र सन्तान हुन् ‘सागर’
ढकाल परिवारको एक मात्रै सन्तान हुन् सागर । सागर घरको कोठाबाट बाहिर निस्किएर पुनः भित्र पस्दा सधैं हातखुट्टा धुने बानी थियो । झापाको मेचीनगर–२ बाहुण्डाँगीको जनएकता टोलस्थित आफ्नै घरमा हातखुट्टा धुने क्रममा २०८२ फागुन १४ गत राती १० बजे हात्तीको आक्रमणमा परेका थिए । खुट्टा धुने क्रममा रहेका सागरलाई हात्तीले सुडले उठाएर १ सय मिटर टाढा लगेर फालिदिएको थियो ।
सुढले फालिदिँदा सागरको मेरुदण्ड भाँचिनुका साथै शरीरका अन्य अंगमा पनि गम्भीर असर परेकाले उनलाई तत्काल उपचारका लागि विएण्डसी पुर्याएको उनको बुबा इन्द्रप्रसाद ढकालले बताए । हालसम्म ६ महिला भन्दा बढी अस्पतालमा उपचाररर्थ छोराको उपचारमा आर्थिक अभाव बनेको उनको भनाई छ ।
मानवीय सुरक्षाको ग्यारेन्टी गर्न सरकार समक्ष माग:
‘सागर ढकाल बचाउ अभियान’ का अभियान्ता गोपी रिजालले बाहुण्डाँगीका सर्वसाधारण कसरी बाच्ने भन्ने विषयमा चिन्तित बनेको बताए । घाइतेको सागर ढकालको उपचारका लागि सरकार जवाफदेही बन्नुपर्ने अभियान्ता रिजालको भनाई थियो । उनले हात्तीको संरक्षणमा उद्दत हुने सरकारले आफ्ना नागरिकलाई हात्तीले घाइते बनाउँदा त्यसपछि उपचारको सबै जिम्मा राज्यले लिनुपर्नेमा जोड दिए ।
बाहुण्डाँगी आसपासका क्षेत्रमा मानव हात्ती द्धन्द्धका कारण मानववस्ती नै असुरक्षित बन्दै आएको छ । दिन र रातमा भारतबाट प्रवेश गर्ने हात्तीले करिव एक हजार भन्दा बढी मानववस्ती र हजारौं नागरिक असुरक्षित बन्दै आएको भएपनि राज्यले त्यसको सुरक्षाका लागि थप प्रयास नगरेको रिजालको भनाई थियो ।
फेन्सी तारवारको प्रवाह नगरी हात्तीले मानववस्तीमा प्रवेश गर्दै उनीहरुको अन्नबालीसहित गाँस–वास र मानवीय क्षति पुर्याउदै आएको बाहुण्डाँगीवासीको दैनिकी नै हात्ती मानव द्धन्द्ध नै बनेको छ । यस्तो अवस्थामा रहेका त्यहाँ नागरिकहरुले सरकारसमक्ष मानवीय तथा भौतिक सुरक्षाको माग गर्दै आएको रिजालको भनाई छ ।
त्यस्तै ‘सागर ढकाल बचाउ अभियान’ का शंकर लुइँटेलले नेपाल सरकारको कृषि, बन तथा पर्यावरण मन्त्रालयले २०८० सालमा संशोधन नियमावलीमा मानव–हात्ती द्वन्द्वबाट हुने क्षतिपछि उपचारमा आउने सबै प्रक्रियाको जवाफदेही राज्य बन्नुपर्ने माग पत्रकार भेटघाटमा राखेका छन् । उनले सरकारले हात्तीको संरक्षणको नाउँमा घाइते हात्तीको उपचार सधैं गर्ने गरेको छ । त्यस्तै हात्ती आक्रमणकै कारण दीर्घ रोगी भएमा त्यस्ता मानिसको सम्पूर्ण उपचार, गाँस र वासको व्यवस्था पनि राज्यले गर्नुपर्ने संशोधित नियमावलीमा उल्लेख गर्न आग्रह गरेका थिए । प्रेस क्लब मेचीनगरको हालमा आयोजित सागर ढकाल बचाउ अभियान अन्तरगत पत्रकार भेटघाटमा उद्धार र मानिस गम्भीर घाइते भए त्यसको उपचार खर्चको व्यवस्था, क्षति भएमा राहत तथा पुनः निर्माणको व्यवस्था गर्दै मानवीय सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका थिए ।





















































