धुलाबारी । झापा मेचीनगर-१० धुलाबारी बजारबाट २७ अर्ब रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गर्ने गिरोहलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। लामो अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीले सात जनालाई नियन्त्रणपछि आवश्यक अनुसन्धानका लागि काठमाडौं पुर्याएको छ।
पक्राउ पर्नेहरूमा कक्सि मारू, अनुज मारू, निर्मल राई, दिपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल र सुनिल राई रहेका छन्। उनीहरू सबै धुलाबारी आसपासमा व्यापार व्यवसायको आवरणमा काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेपछी उनीहरुले भारत तथा तेस्रो मुलुकबाट अवैध रूपमा रकम ल्याउने र पठाउने कार्य गर्दै आएको प्रहरीसमक्ष स्वीकार गरेको जनाएको छ। उनीहरूले स्थानीय सुनचाँदी, इलेक्ट्रोनिक्स र लत्ता कपडाको व्यवसायलाई आवरण बनाएर बैंक प्रणालीबाहिरकै लेनदेन प्रणालीमार्फत दैनिक करोडौँ रुपैयाँको कारोबार गरिरहेका श्रोतको दाबी छ ।
गिरोहले ‘हवाला नेटवर्क’ मार्फत वैदेशिक मुद्राको सट्टा स्वदेशी रुपैयाँ सिधा ग्राहकको हातमा पुर्याउने कार्य गर्दै आएको थियो।
बैंक खाताको विवरण, सञ्चार माध्यमको ट्रेसिङ, डिजिटल कारोबारको अध्ययन र गोप्य सूचनाका आधारमा सीआईबी प्रहरी टोलीले नियन्त्रणमा लिन सफल भएको हो ।
कारोबार अनुसार हालसम्मकै ठुलो अबैध कारोबारीलाई नियन्त्रण लिइएको जनाएको छ । पक्राउ परेकाहरूको संलग्नतामा पछिल्ला ३ वर्षमा करिब २७ अर्ब रुपैयाँभन्दा बढीको अवैध लेनदेन भएको देखिएको छ। अनुसन्धानमा थप सहयोगको लागि उनीहरूका मोबाइल, ल्यापटप, पासपोर्ट, व्यवसायिक कागजातहरू पनि जफत गरिएको जनाएको छ ।






















































