झापा । झापाको बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणका क्रममा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै जनप्रतिनिधिहरु सडकमा उत्रेका छन् ।
चार लेनको कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै जनप्रतिनिधि र स्थानीयले झापाको सदरमुकाम जोड्ने सडक खण्ड शुक्रबार बन्द गराएका हुन् ।
कालोपत्रे सडक निर्माण कार्यप्रति सम्बन्धित निकायले चासो नदेखाएपछि दबाब स्वरूप भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, वडा अध्यक्षहरू अभिषेक ढुङ्गाना, टेकबहादुर खडका (काजी)सहित स्थानीयहरुले सडक बन्द गराएका हुन्।
उनीहरूले भद्रपुरको चन्द्रगढीस्थित लेखनाथ चोकमा बिहान ८ बजेदेखि करिब ६ घण्टासम्म बाँस तेर्साएर सडक बन्द गराएका थिए। जिल्लाकै सदरमुकाम जोड्ने मुख्य सडक बन्द हुँदा सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भए। सडक निर्माणमा ढिलासुस्ती हुँदा हिउँदमा धुलो र अहिले वर्षायाममा हिलाम्मे भएका कारण जनताले सास्ती झेल्दै आइरहेको छ।
सो सडक अन्तर्गत भद्रपुरको देउनियाँ पुलदेखि लेखनाथ चोक हुँदै भैरव चोकसम्म चार लेनको सडकको ठेक्का लागे पनि अझै काम सुचारु नभएपछि सडक बन्द गरेर विरोधमा उत्रिनु परेको स्थानीय सन्तोष घिमिरेले बताए।
ठेक्का लागिसकेको चार लेनको सडकमा पर्याप्त बजेट नपठाउँदा निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै सङ्घीय सरकारलाई दबाब दिन स्थानीयले बन्द गरेको सडकमा नगरपालिकाले ऐक्यबद्धता जनाएको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले बताए। खाल्डाखुल्डीका कारण यो सडकमा हिँड्ने अवस्था नै छैन। दुर्घटनाको जोखिम पनि त्यतिकै छ। सम्बन्धित पक्षलाई सिडिओ कार्यालयमा बोलाएर पटक पटक भद्रपुरतर्फको पनि सडक विस्तारका लागि छलफल चलाएका थियौँ। ‘हाल भत्किएका सडक मर्मत सम्भार गरी हिँड्ने अवस्था बनाइदिनु पर्यो भनी पनि भन्यौँ,’ नगर प्रमुख पोखरेलले भने, ‘त्यति गर्दा पनि सुनवाइ नभएपछि स्थानीयसँगको सहकार्यमा सडक बन्दमा उत्रिनु पर्यो।’
निर्माण कम्पनीले बिर्तामोडतर्फ मात्र सडक बनाइरहेको छ। भद्रपुरको देउनियाँयता अहिलेसम्म सडक विस्तारको काम नै सुरु गरेको छैन। सो सडक खण्डको काम छिटोभन्दा छिटो सुचारु गराउन पनि सडकमा उत्रिनु परेको उनको भनाई छ। सो सडक निर्माणको ठेक्का काठमाडौंको कन्टेक प्रालिले करिब ६० करोड रुपैयाँमा लिएको हो। २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो।
सो अवधिमा कम्पनीले बिर्तामोड क्षेत्रमा मात्र काम गरिरहेको छ। दुई पटक म्याद थप गरिसकेका निर्माण कम्पनीले ४० प्रतिशत मात्र काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए। २०८१ पुस मसान्तसम्म काम सम्पन्न गरी म्याद थप गरेको बताउँदै सडक डिभिजन प्रमुख पौडेलले, ‘सो अवधिभित्र काम सम्पन्न नभए फेरि म्याद थप हुँदैन, त्यसपछि कानुनी प्रक्रिया अघि बढाउँछौँ।’
करिब ८ किलोमिटर सडक दुई चरण गरी काम अघि बढाइएको हो। पहिलो चरण बिर्तामोड क्षेत्रमा ५ किलोमिटर र त्यसपछि भद्रपुर क्षेत्रमा ३ किलोमिटर काम गर्नुपर्ने हुन्छ। ‘अहिले बिर्तामोडतर्फको काम भइरहेको छ। असार अगावै एकतर्फी कालोपत्रे गरिन्छ,’ डिभिजन प्रमुख पौडेलले भने, ‘आगामी वर्ष भद्रपुरतर्फको कामको सुरुवात हुन्छ।’