काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ। आयोगको बैठकले गरेको निर्णयअनुसार हाल कायम अन्तिम मतदाता नामावली र २०८३ भदौ १५ गतेसम्म अद्यावधिकका लागि निवेदन दिएका मतदाताको विवरण समावेश गरी नयाँ मतदाता नामावली तयार गर्न निर्देशन दिइएको हो।
आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा १३ बमोजिम प्रकाशन गर्ने प्रयोजनका लागि मतदाता नामावली तयार गर्न भनेको छ। साथै ऐनको दफा ६ को खण्ड (ख) बमोजिम मतदाताको उमेर १८ वर्ष पूरा भएको मिति २०८३ भदौ १५ गते तोकिएको छ।
आयोगले उक्त कटअफ मितिसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा समावेश गर्ने व्यवस्था मिलाउन तथा सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशनका लागि पठाउनसमेत निर्देशन दिएको छ।
निर्वाचन आयोगका अनुसार मतदाता नामावली अद्यावधिक कार्य मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ ले तोकेको प्रक्रिया पूरा गरी अनुसूची–१ बमोजिम सञ्चालन हुनेछ। यससँगै नियमित रूपमा भइरहेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी कार्यलाई निरन्तरता दिन पनि आयोगले भनेको छ।
आयोगले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई आफ्नो कार्यक्षेत्रअन्तर्गतका स्थानीय तहका वडाहरूमा मतदाता नामावली विस्तृत रूपमा अद्यावधिक गर्ने कार्य तत्काल सुरु गर्न निर्देशन दिएको छ। त्यस क्रममा स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडान गरी अद्यावधिक गर्नुपर्नेछ।
आयोगले तोकिएको समयभित्र उक्त कार्य सम्पन्न गर्ने गरी तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
मतदाता नामावली अद्यावधिक कार्यक्रमका लागि आवश्यक सहयोग र समन्वय गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सम्बन्धित निकायलाई समेत अनुरोध गरिएको आयोगको पत्रमा उल्लेख छ।
निर्वाचन आयोगको यो निर्णयसँगै आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावलीमा नयाँ मतदाता थप्ने, मृत्यु वा बसाइँसराइ भएका मतदाताको विवरण सच्याउने तथा विवाहपश्चात् विवरण परिवर्तन भएका मतदाताको अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।





















































