धुलाबारी । नेपाली चिया निर्यातमा भारतले थप अवरोध सिर्जना गरेको भन्दै मेची उद्योग वाणिज्य संघले तत्काल कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न नेपाल सरकारसँग माग गरेको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको प्रमुख निर्यातजन्य कृषि उपज चियाको मुख्य बजार भारत रहेको उल्लेख गरेको छ। विज्ञप्तिअनुसार विगतदेखि नै भारतीय पक्षले विभिन्न अवरोध सिर्जना गर्दै आएकोमा हाल भारतीय चिया बोर्ड (Tea Board India) ले नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (SOP) लागू गरेपछि नेपाली चिया निर्यात थप प्रभावित बनेको जनाएको छ।FB_IMG_1781620441239

संघका अनुसार नयाँ व्यवस्थाअन्तर्गत विभिन्न प्रकारका गुणस्तर परीक्षण, जोखिमपूर्ण तथा अपारदर्शी प्रक्रियाका कारण नेपाली चियाको भारत निकासीमा जटिलता बढेको छ। यसले चिया उद्योग, किसान तथा मजदुरहरू प्रत्यक्ष रूपमा प्रभावित भएको संघको भनाइ छ।

विज्ञप्तिमा भारतीय पक्षको नीतिका कारण चिया क्षेत्रसँग आबद्ध सयौं उद्योग, हजारौं किसान र कामदारको रोजगारी तथा आयआर्जनमा नकारात्मक असर परेको उल्लेख गरिएको छ। साथै, राज्यले चिया निर्यातबाट प्राप्त गर्ने विदेशी मुद्रा आम्दानीसमेत प्रभावित हुने अवस्था देखिएको संघले जनाएको छ। मेची उद्योग वाणिज्य संघका अध्यक्ष सेवाराज प्रसाईं ले नेपाली चिया क्षेत्रमा देखिएको समस्याको तत्काल समाधानका लागि नेपाल सरकारले भारतसँग कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्। संघले समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सरकारसमक्ष आग्रह गर्दै नेपाली चिया निर्यातलाई सहज बनाउन आवश्यक कदम चाल्न माग गरेको छ।

चिया निर्यातमा देखिएको पछिल्लो अवरोधले पूर्वी नेपालका चिया उत्पादक क्षेत्रहरूमा चिन्ता बढाएको छ भने सरोकारवाला निकायहरूले समेत यसको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।