बिर्तामोड । झापाको बिर्तामोड–२ चारपानेमा एक युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने घटनामा संलग्न पाँच जनाविरुद्ध प्रहरीले भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार जेठ २९ गते साँझ करिब ६ः३० बजे चारपाने निवासी २१ वर्षीया सबिना राजवंशीमाथि पुरानो रिसइबी साँध्ने उद्देश्यले समूहगत रूपमा आक्रमण गरिएको थियो। घटनामा संलग्न रहेको आरोपमा कन्काई–८ का १८ वर्षीय समिर मुर्मु, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १९ वर्षीया पूजा बस्नेत तथा बिर्तामोड–२ की ४४ वर्षीया मन्जु हस्दा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रञ्जन अवालका अनुसार पक्राउ परेका पाँचै जनामाथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई जिल्ला अदालत झापामा उपस्थित गराई सात दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार अभियुक्तहरू पूर्वयोजनासहित सबिना राजवंशीमाथि आक्रमण गर्न पुगेका थिए। उनीहरूले पीडितको चरित्रमाथि लाञ्छना लगाउने शब्द लेखिएका १६ वटा पर्चासमेत साथमा बोकेर आएका थिए। चारपानेस्थित बेलडाँगी जाने सडकखण्डमा युवतीलाई नियन्त्रणमा लिएर बिजुलीको पोलमा हात बाँधिएको थियो। त्यसपछि अनुहारदेखि शरीरभरि कालो मोबिलको मोसो दलिएको प्रहरीको भनाइ छ।
घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोले व्यापक आलोचना निम्त्याएको थियो। प्रारम्भिक रूपमा पीडित पक्षले अभद्र व्यवहारसम्बन्धी जाहेरी दिएको भए पनि घटनाको प्रकृति गम्भीर र अमानवीय देखिएकाले प्रहरीले थप कडा कानुनी प्रावधानअन्तर्गत मुद्दा अघि बढाएको जनाएको छ।
प्रहरीले पुरानो व्यक्तिगत रिसइबी र आपसी विवादको प्रतिशोधस्वरूप घटना घटाइएको प्रारम्भिक निष्कर्ष निकालेको छ। घटनाका अन्य पक्ष तथा सम्भावित संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मानव मर्यादामाथि ठाडो प्रहार मानिएको यस घटनाले कानुन हातमा लिएर सार्वजनिक रूपमा कसैलाई अपमानित गर्ने प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाएको छ।




















































