झापा ।  झापा प्रहरीले चोरिएकाे ७ वटा सिटी सफारी सहित चोरीमा संलग्न १० जनाको गिरोहलाई  पक्राउ गरेकाे छ ।  प्रहरीले  ७ वटा सिटीसहित २१ लाख ५५ हजार बराबरको सामान बरामद गरेकाे जनाएकाे छ ।

झापाको भद्रपुर, बिर्तामोड र काँकरभिट्टा लगायतका स्थानहरुबाट विभिन्न मिति र समयमा पार्किङ स्थलहरुमा  राखेको सिटी सफारीहरु चोरी भएका थिए ।  

हराएका सिटीका  सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान तिब्र बनाएकाे थियाे ।  त्यसक्रममा चोरी कार्यमा संलग्न गिरोहलाई सीसीटीभी फुटेजको सहायतामा हुलिया पहिचान गरी नियन्त्रणमा लिन झापा प्रहरी सफल भएको हो ।

चोरी गरिएको सिटी सफारी ७ थान (अन्दाजी मूल्य १७ लाख ५० हजार), ब्याट्री २० थान (अन्दाजी मूल्य ४ लाख )र चार्जिङ कन्ट्रोलर एक थान (अन्दाजी मूल्य ५हजार) गरी जम्मा रु. २१ लाख ५५ हजार मूल्य बराबरको सामानहरु बरामद गरी चोरी कार्यमा संलग्न १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

पक्राउ पर्नेहरुमा चोरीमा संलग्न अभियुक्तहरु मेचीनगर नगरपालिका वडा न-७ गैरीगाउँ बस्ने वर्ष २२ का अभिषेक चौधरी भन्ने रूपककुमार सरदार,बिर्तामोड नगरपालिका वडा नं. ७ मियाँबारी बस्ने वर्ष ३१ का मोहमद सलिम, मेचीनगर नगरपालिका वडा न-१० ताराबारी धाइजन ढाँट बस्ने वर्ष ३० का अभिशेक उराउ रहेका छन् ।

त्यस्तै चोरिएका सिटी सफारीका ब्याट्रीहरु खरिद कार्यमा संलग्न अभियुक्तहरु विर्तामोड नगरपालिका वडा न- ५ बस्ने बर्ष ४३ का नसिम अख्तर,भारत बिहार राज्य किसनगन्ज जिल्ला स्थायी वतन भई अर्जुनधारा नगरपालिका वडा नं. ६ मा कोठा भाडा बस्ने बर्ष २० का एमडी जिगर आलम,अर्जुनधारा नगरपालिका वडा न-८ बस्ने बर्ष ३२ का संजय चौधरी, मेचीनगर नगरपालिका वडा न-७ इटाभट्टा बस्ने वर्ष २० का डिकेश राजवंशी,भारत पश्चिम बंगाल पानीटंकी घर भई मेचीनगर-१४ चारआली बस्ने बर्ष ३२ का पान बर्मु, भारत पश्चिम बंगाल बेलङ्गा थाना घर भई मेचीनगर १४ चारआली बस्ने बर्ष ३३ का मोहम्मद साबिर मुल्ला र भारत पश्चिम बंगाल बरमपुर थाना घर भई मेचीनगर-१४ चारआली बस्ने बर्ष ४७ का आख्तरुल शेख रहेका छन् ।

प्रहरीले चोरी भएका ७ वटा सिटी सफारी बरामद गरेको छ । प्रदेश नं. १–०१–००२ ह १६३०, मे १ ह १०५५, प्रदेश १–०१–००१ ह५२६, प्रदेश १–०१–००२ ह ४९२०, प्रदेश १–०१–००२ ह ३७८४, प्रदेश १–०२–००१ ह ८७१८ र प्रदेश १–०१–००२ ह २१७ नम्बरको सिटी सफारी फेला परेको डीएसपी खड्काले बताए ।त्यस्तै मेचीनगर नगरपालिका वडा नं. ७ इटाभट्टामा रहेको कवाडी पसलबाट ब्याट्री ४ थान, मेचीनगर नगरपालिका वडा नं. १४ चारआलीस्थित कवाडी पसलबाट ब्याट्री ४ थान ,अर्जुनधारा नगरपालिका वडा नं. ८ शनिश्चरेस्थित कवाडी पसलबाट ब्याट्री ४ थान,अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित एमडी जिगर आलमको कोठाबाट ब्याट्री ८ थान, अर्जुनधारा नगरपालिका वडा नं. ११ बुट्टाबारीस्थित कवाडी पसलबाट ब्याट्री ४ थान र एक थान चार्जिङ कन्ट्रोलर बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धान गर्न आज जिल्ला अदालत झापामा पेश गरी ५ दिन म्याद प्राप्त गरी अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए । उनीहरु बिरुद्ध पीडितहरुले जिल्ला प्रहरी कार्यालय झापामा ३ वटा, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ३ वटा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा एउटा चोरी शिर्षकमा जाहेरी दर्ता गराएको उनले जानकारी दिएका छन् ।