मेचीनगर । पूर्वी नेपालकै सक्रिय व्यापारिक संस्थामध्ये एक मेची उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा व्यवसायीबीचको तीव्र प्रतिस्पर्धाबाट खेमराज प्रसाईं पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले ७७२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी किशोर क्षेत्री (कपिल) ले ७३३ मत प्राप्त गरेका छन् । यसअघि क्षेत्रीले संघको वरिष्ठ उपाध्यक्ष पदमा सम्हालेका थिए ।
त्यस्तै संघको वरिष्ठ उपाध्यक्ष पदमा आनन्द खड्का विजयी भएका छन् । उनले ७५२ मत प्राप्त गर्दा उनका प्रतिश्पर्धी भूमि पौडेलले ७४५ मत प्राप्त गरेका छन् ।
उद्योग उपाध्यक्ष पदमा हरिप्रसाद कोइराला निर्वाचित भएका छन् । उनले जम्मा मतमध्ये ७९५ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका प्रतिश्पर्धी भीमबहादुर कुँवर ले ६४२ मत प्राप्त गरेका छन् । वाणिज्य उपाध्यक्ष पदमा सन्तोष खवास निर्वाचित भएका छन् । सर्वाधिक ८०७ मत ल्याएर विजयी हासिल गरेका हुन् । उपका प्रतिद्धन्द्धी नरबहादुर थापा (तिलक) ले ६२१ मत प्राप्त गरेका छन् ।
महिला उपाध्यक्षमा उषा नेपाली श्रेष्ठले ७८० मतसहित जीत हासिल गरेकी छन् । प्रतिश्पर्धी सुन्दरीकुमारी श्रेष्ठले ५२४ मत प्राप्त गरेकी छन् । महासचिव पदमा पनि प्रतिस्पर्धा रोचक बनेको छ । २ मतान्तरले ध्रुव कनाल महासचिव पदमा निर्वाचित भएका छन् । कनालले ७२४ मत ल्याउदा उनका प्रतिद्धन्द्धी दिनेश शाक्यले ७२० मत प्राप्त गरेका थिए ।
महिला सदस्य पदतर्फ तारा श्रेष्ठले सबैभन्दा बढी ७३० मत ल्याएर विजेता बनेकी छन् । चम्पा नेम्बाङ ६५२ र कृष्णकुमारी प्रसाईँ (कल्पना) ले ६४१ मत प्राप्त गर्दै विजयी हासिल गरेकी छन् । खुल्ला सदस्यतर्फ अर्जुन तिवारी ८६६, राजेशकुमार बंसल ६८२, आशिष संग्रौलाले ६८०, जयकुमार श्राप (सुनार) ६६३, दिनेश पोख्रेल ६४१ र खिरोज बराल ६४६, सचिन निरौला ७४९ मत प्राप्त गर्दै सदस्यमा विजयी बनेका हुन् । निर्वाचन समितिका अनुसार कुल १६०३ मत खसेकोमा ४२ मत बदर भएको थियो भने १५६१ मत सदर भएको जनाएको छ ।
सार्वजनिक मत परिणमअनुसार अधिकांश पदमा झिनो मतान्तर देखिँदा संघभित्रको शक्ति सन्तुलन, व्यवसायिक प्रभाव र आगामी नेतृत्वको दिशाबारे व्यापक चासो बढेको छ । तीन दशकअघि पूर्वी नाकाको व्यापार विस्तारसँगै स्थापना भएको मेची उद्योग वाणिज्य संघले झापा, इलाम तथा पूर्वी पहाडी क्षेत्रका व्यवसायीको साझा छाता संगठनका रूपमा काम गर्दै आएको छ । भारतसँग जोडिएको काँकडभिट्टा नाका, चारआली, धुलाबारीलगायत क्षेत्रको व्यापारिक गतिविधिलाई संस्थागत गर्दै आएको संघले उद्योग, पर्यटन, होटल, यातायात, कृषि, निर्यात–आयात र सेवा क्षेत्रका व्यवसायीलाई एकीकृत गर्ने भूमिका खेलेको छ ।
संघले व्यवसायीका हकहित, कर नीति, भन्सार सहजीकरण, लगानी प्रवर्द्धन, औद्योगिक वातावरण निर्माण तथा स्थानीय बजार व्यवस्थापनमा पटक–पटक दबाबमूलक भूमिका खेल्दै आएको छ । यही कारण संघको नेतृत्वलाई केवल “संस्थागत पद” मात्र नभई स्थानीय व्यापारिक शक्ति र पहुँचको केन्द्रका रूपमा पनि हेरिने गरिन्छ ।


















































