बिर्तामोड । होटलमा अनैतिक यौनधन्दा र लागूऔषधको कारोबार बढेको पाएपछि प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दिनहुँ त्यहाँका होटलहरुमा सर्च अप्रेसन गर्न थालेको हो । गएराति अर्जुनधारा ११ बसपार्कस्थित राईमान होटल एण्ड लजबाट शंकास्पद अबस्थामा भेटिएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक राजेश पौडेलको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा शंकास्पद अबस्थामा फेला पारी पाँच युवतीसहित १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा १८ देखि २४ वर्ष उमेरका युवतीहरु छन् । त्यस्तै ग्राहकका रुपमा जाने चार भारतीय र एक नेपाली पुरुष पक्राउ परेका छन् । उनीहरुलाई आबश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।यसअघि होटलमा शंकास्पद अबस्थामा ६ जनालाई नियन्त्रणमा लिइएको छ ।होटल सञ्चालकले युवती राखेर अबैध यौनधन्दा सहित लागुऔषधको अखडा बन्दै आएको छ। यता होटल ब्यवसायीले प्रहरीलाई मासिक नजराना बुझाएर उक्त गतिविधि गराउँदै आएको बताएका छन् । प्रहरीले होटलबाट मासिक नजराना बुझ्दा सिभिल पुलिस खटाउने गरेको र पछिल्लो समयमा दररेटमा नमिलेपछि प्रहरीले पक्राउ गरेको होटल ब्यवसायीको आरोप छ ।