झापा । राष्ट्रिय सहकारी प्राधिकरणमा दर्ता नहुने बचत तथा ऋण सहकारीको कारोबार रोक्कादेखि दर्तासमेत खारेज हुने भएको छ । नियमन निकायमा दर्ता नभएको संस्थाको दर्ता खारेजसम्म गर्ने तयारीमा प्राधिकरण पुगेको हो ।प्राधिकरणले १० असोज २०८२ मा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण सम्बन्धी मापदण्ड जारी गरेको थियो । सोही अनुसार प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई दर्ताका लागि आह्वान गरेको करिब तीन महिना बितिसकेको छ । यो अवधिमा ३ हजार २ सय बचत तथा ऋण सहकारी मात्र प्राधिकरणमा दर्ता हुन आएका छन् ।प्राधिकरणले दर्ताका लागि १० माघसम्म म्याद दिएको थियो । उक्त  अवधि समाप्त हुँदासम्म सहकारी संस्थाहरूले चासो नदेखाएपछि प्राधिकरणले पुन: ११ फागुनसम्म म्याद थपेको छ । प्राधिकरणमा दर्ता हुन गए नियामकीय मापदण्ड पूरा गर्नुपर्ने तथा आफ्नो कारोबारको सम्पूर्ण जानकारी दिनुपर्ने भएकाले पनि धेरै सहकारी दर्ता हुन नसकेको एक सहकारी अभियन्ताले बताए ।