रुपन्देही । रुपन्देहीका बजारमा नक्कली डिएपी र युरिया मल छ्यापछ्याप्ती भएको पाइएको छ । कृषि प्रयोजनका लागि आयात गरिने नक्कली मलले बजार भरिरहँदा स्थानीय प्रशासन र प्रहरी मौन रहेको पाइएको छ । यता नक्कली मल प्रयोगबाट किसान दोहोरो मारमा परेका छन् ।  
मर्चवारका किसान असिम पासवानले चार बिघा खेतमा लगाएको धानको धानको गाँज फस्टाउन र बोट हरियो बनाउन स्थानीय बजारबाट ल्याएको मलले धान पहेंलो भएपछि मल नक्कली भएको थाहा पाएका थिए । उनले युरिया र डीएपी मल हप्ता दिनअघि खेतमा छरेका थिए । मल हालेपछि ढुक्क बनेका पासवानको तीन दिनमै निराशामा वदलीएको थियो पासवानले भने, ‘बजारबाटै किनेर ल्याएको हुँ, पैसा मात्रै डुब्यो, धान हरियो फर्कने आश अहिले पहिँलिएको छ ।’
उनले भैरहवाको बजारबाट ‘सोइल कन्डिसनर, रक फस्फेट प्रोम मल पी२ओ५० १० प्रतिशत’ नामको मल लगेका थिए, जुन वास्तवमा सरकारले प्रमाणित गरेको वास्तविक मल नभई नक्कली उत्पादन हो। पासवानको भोगाइ एउटा प्रतिनिधि घटना मात्र हो। अहिले लुम्बिनी प्रदेशका तराई जिल्लाहरू, विशेषगरी रुपन्देहीका गाउँ(गाउँमा यस्तै नक्कली र गुणस्तरहीन मल छ्यापछ्याप्ती भने त्यहाँको स्थानीय प्रशासन मौन छ ।
भारतबाट अवैध रूपमा भित्र्याइने यस्ता मलले किसानको लगानी र मिहिनेत खेर गएको छ, तर यसको नियन्त्रणमा सरोकारवाला निकायको उदासीनता देखिन्छ। किसानको खेतसम्म यसरी फैलिन्छ नक्कली मलको सञ्जाल नक्कली मलको कारोबार नेपाल(भारत खुला सिमानाको फाइदा उठाउँदै मौलाएको छ। रुपन्देहीको भैरहवा, मर्चवार र लुम्बिनी क्षेत्रका खुला नाकाहरूबाट यस्ता मल खुलेआम भित्रिन्छन्।
कृषि मन्त्रालयको अनुमति चाहिने यस्ता उत्पादन कहिलेकाहीँ भन्सार नाकाबाटै पनि भित्रिने गरेका छन्। ‘सोइल कन्डिसनर’ जस्ता नाममा आउने यस्ता मलमा भन्सार शुल्क र मूल्य अभिवृद्धि करसमेत नलिई भित्र्याउन दिइने गरेको स्थानीय व्यापारीहरू बताउँछन्। नेपालमा हरेक वर्ष हुने रासायनिक मलको अभावको फाइदा उठाउँदै केही व्यावसायिक घराना र तस्करहरूले यो धन्दा चलाइरहेका छन्। उनीहरूले किसानको माग पूरा गर्ने बहानामा मापदण्डविपरीतका भारतीय उत्पादनहरू गाउँसम्म पुर्याएका छन्।
बजारमा किसान गोल्ड, गोरखाली शक्ति, श्री किसान नवरत्न, एनपीएल सरदार, शुभ सरदार, र किसान शक्ति जस्ता आकर्षक नाममा यी नक्कली मलहरू बिक्री भइरहेका छन्। यी उत्पादनहरू मोहिनी ट्रेडर्स, सोमा एग्रो ट्रेडर्स, हरि एण्ड राज इन्टरप्राइजेज जस्ता कम्पनी तथा सप्लायर्सले आयात गर्ने गरेको पाइएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका-४ स्थित ग्रोमोर फर्टिलाइजरका सञ्चालक सिद्धार्थ अग्रवाल मापदण्डहीन मलको आयातले वैध व्यवसायी र किसान दुवै मारमा परेको बताउँछन्। ‘गुणस्तरहीन मल खुलेआम भित्रिँदा पनि कसैले चासो दिएको छैन। यसले वैध कारोबारलाई निरुत्साहित गर्छ र किसानलाई ठग्छ’, उनले भने।

कृषि विज्ञहरूका अनुसार परीक्षण नगरिएका र गुणस्तरहीन मलको प्रयोगले अल्पकालीन र दीर्घकालीन रूपमा गम्भीर असर गर्छ। यसले माटोमा अम्लीयपना बढाउँछ, माटोलाई कसिलो र अनुत्पादक बनाउँछ, र अन्ततः उत्पादन र उत्पादकत्वमा भारी ह्रास ल्याउँछ। कृषि ज्ञानकेन्द्र, रुपन्देहीका प्रमुख शिव अर्याल किसानहरूलाई सरकारले तोकेको मापदण्ड पूरा भएका र आवश्यक पोषक तत्त्वयुक्त मल मात्र प्रयोग गर्न सुझाव दिन्छन्। ‘सरकारले आयात गर्ने मलमा बालीलाई चाहिने नाइट्रोजन, फस्फोरस, पोटासियम जस्ता तत्त्वहरूको मात्रा सुनिश्चित गरिएको हुन्छ,’ उनले भने, ’तर खुला नाकाबाट भित्रिने नक्कली मलमा के छ भन्ने नै थाहा हुँदैन। यस्ता मल प्रयोग गर्दा उत्पादन घट्ने र माटोको उर्वराशक्ति नाश हुने खतरा हुन्छ।’

अर्यालले कानुनसम्मत उत्पादित र सरकारी माध्यमबाट आयातित मल मात्र प्रयोग गर्न किसानहरूलाई आग्रह गरे। अवैध आयात रोकिएको सरोकारवालाको दाबी बजारको यथार्थ र किसानको पीडा एकातिर छ भने सरकारी निकायहरू भने नक्कली मलको आयातमा कडाइ गरिएको दाबी गर्छन्। रोचक त के छ भने, अवैध रूपमा भित्रिने कतिपय मल नेपाली बोरामा, नेपाली भाषामै ‘स्वदेशी मल’ लेखेर समेत बिक्री भइरहेको छ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत नरेन्द्रप्रसाद चौधरीले सरकारले अनुमति दिएको रासायनिक मलबाहेक अन्य मल आयात नभएको दाबी गरे। तर, व्यवसायी र किसानको अनुभवले भने भन्सारको दाबीलाई ठाडै अस्वीकार गर्छ। यता, सुरक्षा निकाय पनि सीमामा कडाइ गरिएको बताउँछन् । लुम्बिनी प्रदेश प्रहरी प्रमुख,प्रहरी नायव महानिरीक्षक ९डीआईजी० राजेन्द्रप्रसाद भट्टले अवैध मल आयात रोकिएको दाबी गरे।

‘हामीले नाकामा कडाइ गरेका छौं। कुनै किसिमको अवैध मल आयात भएको छैन। म सबै जिल्लालाई पुनः निर्देशन दिन्छु’, उनले भने। सशस्त्र प्रहरी बल लुम्बिनी प्रदेशका प्रमुख, सशस्त्र प्रहरी नायव महानिरीक्षक ९डीआईजी० दीपेन्द्र कुँवर पनि लुकीछिपी हुने आयातलाई नियन्त्रण गर्न निर्देशन दिएको बताउँछन्। ‘मैले कडाइका साथ अवैध बाटोबाट भित्रिने मल रोक्न निर्देशन दिएको छु। हामी अवैध कारोबार रोक्न दत्तचित्त छौँ’, उनी भन्छन्।