बिर्तामोड । झापाको बिर्तामोडमा चोरी तथा लुटपाटका घटना बढेसँगै  सर्वसाधारण पीडित बनेका छन् । केहि समययता बिर्तामोडमा दिन र रातिको समयमा चोरी तथा लुटपाटका घटना बढेसँगै प्रहरीले लुटेरालाई नियन्त्रण गर्न नसक्दा पीडितले राहत पाउन सकेका छैनन् ।
घटनालगत्तै स्थानीय प्रहरीलाई खवर गरेका पीडितहरुले न चोरी भएको धनमाल पाउछन् न त लुटेरानै पक्राउ परेको खवर पाउछन् ।
लाखौं मूल्यका धनमाल लुटपाट र चोरीपछि प्रहरीले अनुसन्धान चल्दै छ भन्ने जवाफ दिँदै आएको छ । प्रहरीले सर्वसाधारणको घरआगनबाट लाखौंको धनमाल लुटिएपछि पनि अपराधमा संलग्नलाई नियन्त्रणमा लिन नसक्दा पीडित असुक्षित र त्रासित बनेकाे उनिहरुको गुनासो छ ।
एक पछि अर्को शृङ्खलाबद्ध शैलीमा घटना बड्दै जानू र प्रहरीले पनि नियन्त्रणमा लिन नसक्नुले आशंका र त्रासले सर्वसाधारणलाई पिरलेको उनीहरुको गुनासो छ ।
गयराति बिर्तामोड नगरपालिका-५ कंचनजंघा टोलस्थित कुमार बुढाथोकीको घरबाट  लुटेराले १४ लाखबढीको धनमा लुटेका छन् ।
सुनका गरगहना ६ तोला १४ आना, चाँदीको गरगहना ६ तोला र नगद रु २० हजार गरी अन्दाजी १४ लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । बुढाथोकी परिवार इटहरी गएको मौकामा घरमा कोही नभएको अवस्थामा चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
यसअघि पनि बिर्तामोडमा कोही नभएको मौका छोपी ढोका फोरी चोरीका घटना भएका छन् । गत बैशाख २६ गते बिर्तामोड वडा नं. ३ पुण्डरी टोल बस्ने किरण दाहालको घरबाट २९ लाखको धनमाल चोरी भएको थियो ।

त्यसअघि बैशाख १५ गते दिनदहाडै ढोका फोरी बिर्तामोड–४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरबाट २९ लाख बराबरको धनमाल चोरी भएको थियो । त्यस्तै विर्तामोड-४ मा रस्मिशेखर सुवेदीको घरको ढोका काटेर नगदसहित लाखौंको गरगहना लुटपाट गरेका थिए ।