काठमाडौ । एघारदिन यता शिक्षा ऐन जारी गर्न शैक्षिक हडताल गरेर काठमाडौ केन्द्रित शैक्षिक सडक आन्दोलनमा उत्रेका नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति नजिक पुगेको पाइएको छ । आन्दोलन गरिरहेका शिक्षक र सरकारका प्रतिनिधिहरुबीच लगातार संवादका क्रममा बुदागतमा सहमति प्रयास भएको जनाएको छ । शिक्षा मन्त्रालयका उच्च तहका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीवारदेखि सुरु संवाद शनिबार साँझसम्म पनि जारी थियो । आज आइतबार पनि दुबै पक्षबीच संवाद हुने बताइएको छ ।

शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली संवाद सकारात्मक भएको बताइन्। शनिबारको छलफल पनि पराजुलीले भनिन्, ‘संवाद सकारात्मक छ तर निष्कर्षमा पुग्न सकिएन ।’

उनका अनुसार शिक्षकका मागबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले मन्त्रिपरिषदबाट गर्न सक्ने निर्णयबारे ब्रिफिङ गर्दै आइतबार अर्थ मन्त्रालयसँग बसेर छलफल गर्ने र पुनः शिक्षक महासंघसँग छलफल गर्ने बताएका थिए ।

शिक्षकहरुले राखेका मागबारे मन्त्रिपरिषद्बाट निर्णय भएमा र शिक्षा ऐन जारी गर्ने सुनिश्चितता भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने उनले बताइन् । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन जारी गर्न शिक्षक महासंघले भनिरहेको छ ।देशभरका शिक्षकहरुले २० चैतदेखि काठमाडौंमा भेला आएर आन्दोलन गरिरहेका छन् ।