झापा । आज माघ शुक्ल पञ्चमी । शुक्ल पञ्चमीको दिनलाई श्रीपञ्चमी पर्वको रूपमा मनाउँदै हामी वाणीको देवी सरस्वतीलाई विशेष रूपले पूजा–अर्चना गर्दछौं। यसमा पनि परम्परागत रूपमा मनाउँदै आएको यो पर्व हामी हाम्रो देश रहिआएकाले नेपालभर विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रमसहित यो पर्व ज्यादै उल्लासमय वातावरणमा मनाइने परम्परा छ।
यसर्थ सरस्वतीको आराधना विद्या आर्जनको निमित्त गरिन्छ। विद्या आर्जनबाटै विनय, पात्रता योग्यता धन, धर्म, सुख र आनन्द पाइने आध्यात्मिक नीतिमा बताइएको छ। जुन भन्ने नै हो भने विद्याकी देवी सरस्वतीलाई जनबोलीमा विद्या शब्दको पर्यायवाची रूपमा लिने गरिन्छ। आजसम्म मानव जातिले हासिल गरेका सकारात्मक उपलब्धिहरू सरस्वतीको आराधनाबाट प्राप्त विद्याको सही सदुपयोग र अध्ययनका परिणाम हुन्। यसको साथसाथै वेद उपनिषद्, इतिहास भूगोल, खगोल आदिका ज्ञाता जसलाई हामी विभिन्न उपाधि जस्तै गुरु, जगद्गुरु, स्वामी, शंकराचार्य, ऋषि, महर्षि आदिको नामले पुकार्दछौं, ती सबै विद्याकी खानी सरस्वतीको उपासक भएर नै समाजमा प्रतिष्ठित र आदरणीय भएका हुन्। यसै भएर नै विद्याको महत्व र महिमालाई विद्याधनम् सर्व धनं प्रधानम् भनेर भनिएको हो।
हाम्रो नेपाली परम्परामा बालबालिकाहरूलाई अक्षरारम्भ गर्दा यसै दिनदेखि सुरुवात गरिन्छ। पहिलेदेखि नै सानासाना बालबालिकालाई अक्षरारम्भ गर्दा पहिले सिद्धिबुद्धिदाता गणेशजीको पूजा गराइन्छ। त्यसपछि श्रीसरस्वती देवी र वेदव्यास जो हिन्दु वाङ्मय जगत्को गुरुको रूपमा लिइन्छ । यी सबैलाई यथोचित पूजा गरेर पढाउन सुरु गरिन्छ। अतः वसन्त पञ्चमीको दिनमा नेपालको ठाउँठाउँमा भएका सरस्वती मन्दिरहरू, प्राथमिक विद्यालय, महाविद्यालय, विश्वविद्यालय र पाठशालाहरूमा सरस्वती पूजाको समारोह नै गरिन्छ। यसमा पनि भन्ने नै हो भने खास गरेर विद्यार्थी, शिक्षक, अभिभावक र अन्य सरस्वतीका साधक तथा श्रद्धालु आआफ्ना पायक पर्ने सरस्वती मन्दिरहरूमा भेला भई सरस्वती देवीको विशेष पूजा आजा गर्न रमाउँछन्। यसै दिन स–साना बालबालिकाका अभिभावक उनीहरूको हात समातेर मन्दिरका भित्तामा ॐ नमो वागिश्वराय लेखेर अक्षराम्भ गराउँदछन्।
यसै दिनदेखि वसन्त ऋतुको आगमन पनि हुने भएकाले माघ शुक्लपञ्चमीलाई मुख्य रूपले दुई अलग–अलग उत्सवको रूपमा मनाइन्छ। एक वसन्त ऋतुको आगमनको उपलक्ष्यमा र अर्को विद्याकी देवी सरस्वतीको आराधना गरिने सरस्वती जयन्तीको रूपमा वसन्त पञ्चमीदेखि जाडो क्रमशः कम हुँदै जाने र बोटबिरुवामा नयाँ पालुवा पलाउने साथै दिन लामो र रात छोटो हुँदै जाने विश्वास जनमानसमा छ। वसन्तपञ्चमीकै दिन विद्याकी देवी सरस्वतीको पूजा आराधाना गर्ने परम्परा छ। यसरी प्राचीन ग्रन्थ महाभारत आदिले पनि सरस्वतीको पूजा गर्ने कुराको उल्लेख गरेका छन्।