मेचीनगर । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले खुल्ला सिमानाका कारण चुहावट नियन्त्रण गर्न नसक्दा अपेक्षाकृत राजश्व संकलनमा चूनौति देखिएको बताएका छन् ।
७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर मेची भन्सार कार्यालयद्वारा आयोजित समापन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रजिअ बाँस्तोलाले त्यस्तो बताएका हुन् ।
उनले भन्सारमा अत्याधुनिक प्रणाली लागू भई कार्यान्वयनमा आएको भएपनि राजस्व चुहावट नियन्त्रण हुन नसकेको उनको भनाई थियो ।
प्रजिअ बाँस्तोला राजश्व चुहावट नियन्त्रण समितिका जिल्ला अध्यक्षसमेत हुन् । जिल्लाको करिब १ सय ४४ किलोमिटर नेपाल-भारत खुल्ला सीमाले नियन्त्रण प्रयास प्रभावकारी नभएको उनको भनाई थियो । भन्सारबाट संकलित राजश्व मुलुकको लागि अर्थतन्त्रको मुल स्रोत हो उनले भने,`राजस्व छरिन नदिन र व्यवसायीको पनि हित हुने वातावरण बनाउनतर्फ ध्यान केन्द्रीत गर्नुपर्दछ र राजस्व प्रवद्र्धनका लागि सबैपक्ष जिम्मेवार बन्नुको विकल्प छैन ।´
समारोहमा विशिष्ट अतिथि रहेकी भारत नक्सलबाडी कस्टम डिभिजनकी असिस्टेन्ट कमिस्नर निमा ल्हामू शेर्पाले नेपाल-भारत देशबीचको आयात–निर्यातमा देखिएका समस्या सुल्झाउँदै दुवै देशको महत्त्वपूर्ण छलफल आवश्यक रहेको औंल्याइन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य केशवराज पाण्डे, उद्योग महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष ओमकृष्ण विमली, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेललगायतले भन्सारबाट आयात-निर्यातमा देखिएका समस्याको समाधान गर्न सम्बन्धित निकायले चासो दिन आग्रह गरेका थिए ।
कार्यक्रममा सीमाक्षेत्र र भन्सारसँग सम्बन्धित विषयमा कलम चलाएबापत पत्रकारहरु मुक्ति पौडेल, लक्ष्मी उप्रेती र अम्बिका भण्डारीलाई सम्मान गरेको छ ।
यस्तै, गतवर्ष सर्वाधिक राजस्व दाखिला गर्ने नेपाल आयल निगम चारआली शाखाका प्रमुख शरणराज भट्टराई, गतवर्ष सर्वाधिक मूल्यको मालवस्तु निकासी गर्ने आरती स्ट्राइप्स प्रालि टंकिसिनुवारी मोरङका कार्यकारी प्रमुख विशाल गुप्ता र गतवर्ष सर्वाधिक मूल्यको कृषिजन्य मालवस्तु निकासी गर्ने नेपाल एभरेष्ट कार्डामम प्रडक्सन एण्ड प्रोसेसिङ प्रालिका ओमकृष्ण विमलीलाई सम्मान गरेको थियो ।
त्यस्तै, भन्सार विभागबाट पुरस्कृत भएका एभरग्रिन ट्रेड सेन्टरका प्रोपाइटर केशवराज पाण्डे र मेची भन्सारका कम्प्युटर अपरेटर श्याम रिजाललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरियो ।
सो अवसरमा मेची भन्सारका कर्मचारीतर्फ कम्प्युटर अधिकृत चन्द्रबहादुर क्षेत्री, नायब सुब्बा लक्ष्मण तामाङ र भद्रपुर भन्सारकी कार्यालय सहयोगी रिता खवास कार्कीलाई सम्मान गरियो ।
त्यसक्रममा दिवस लक्षित साताव्यापी प्रतियोगिताको व्यवस्थापन तथा संयोजन गर्ने मेची सामुदायिक सेवा केन्द्र, रोटरी क्लब अफ काँकरभिट्टा, मेची उद्योग वाणिज्य संघलगायतका संघसस्थालाई सम्मान गरिएको थियो ।
वतृत्वकला प्रतियोगितामा प्रथम भएका सरस्वती बाल कल्याण माविका चिरञ्जीवी कोइराला, द्धितीय भएका बाल सुबोधिनी माविका रमेश नेपाल र तृतीय भएकी कविशिरोमणि माविकी उषा निरौलालाई जनही पुरस्कारराशी ५, ४ र ३ हजार नगदसहित प्रशंसापत्र प्रदान गरियो ।
यस्तै, ब्याडमिन्टन प्रतियोगितामा प्रथम भएका बिर्तामोडका चाणक्य पाठक र उत्सव उप्रेती, द्धितीय भएका मेचीनगरका दीपक घिमिरे र भिसन राई तथा तृतीय भएकाहरु दमकका प्रकाश राई र सुदेन राई एवं कुशल बस्नेत र जुनुन राईको जोडीलाई जनही पुरस्कारराशी क्रमशः २५, १५ र ५ हजार नगदसहित प्रशंसापत्र प्रदान गरियो ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको अध्यक्षतामा भएको समारोहमा स्वागत भद्रपुर भन्सार कार्यालयका अधिकृत अमित तिवारी र सञ्चालन मेची भन्सारका नायब सुब्बा वीपी कोइरालाले गरेका थिए ।





















































