झापा । झापाको बुद्धशान्ति गाउँपालिका-२ को कार्यालय भवन निर्माणमा अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले छानवीन थालेको छ ।
निर्माणका क्रममा कमसल सामग्री प्रयोग गरेर चुहिएर चर्कन थालेपछि स्थानीयले अनियमितता गरेको उजुरीका आधारमा आयोगले छानवीन थालेको हो । अख्तियारको प्राविधिकसहितको छानवीन टोलीले बुधवार वडा कार्यालय भनवको निरीक्षण तथा नापजोख गर्दै स्थानीय र उपभोक्ता समितिका केही पदाधिकारीसँग सोधपुछ गरेको छ ।
दुई वर्ष अघि ७२ लाखको लागतमा निर्माण भएको कार्यालय भवन वर्षामा चुहिने गरेको छ । भवन निर्माण भएको एक वर्षपछि नै चर्किएको थियो । भवन चर्किने र चुहिने भएपछि स्थानीयले अख्तियारमा उजुरी गरेका हुन् । तत्कालीन वडा अध्यक्ष दीलिपकुमार श्रेष्ठले उपभोक्ता समिति गठन गरेर ठेकेदारमार्फत भवन निर्माण गराएका थिए । अध्यक्ष श्रेष्ठले भवन निर्माण उपभोक्ता समिति बदनियतपूर्ण तरिकाले गठन गरेको स्थानीयको आरोप छ । उपभोक्ता समितिले भवन निर्माण गर्न स्थानीय झरेन्द्र श्रेष्ठलाई ठेक्का दिएको थियो ।
वडाध्यक्ष श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनले एमालेका सोही वडाका अध्यक्ष पुष्प भण्डारीलाई उपभोक्ता समितिको अध्यक्ष बताए । सहोदर भाइ अमिरकुमार श्रेष्ठलाई सचिव र निर्माण अनुगमन समितिको संयोजक भाइका ससुरा शेरबहादुर कडरियालाई बनाए । वडाध्यक्षले स्थानीयको उपस्थितिमा उपभोक्ता समिति गठन नगरी गुपचुप गठन गरेको स्थानीयको आरोप छ ।
अख्तियारमा उजुरी परेपछि उपभोक्ता समितिका पदाधिकारीले चर्किएको भवन टाल्न लगाएका थिए । निर्माणमा भएको कमजोरी लुकाउन ठाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए । उनीहरुले चर्किएको ठाउँ टाले पनि रंगरोगन गर्न भने दिएनन् । स्थानीयले भवन निर्माणको छानवीन गरी दोसीलाई कारबाही गर्न माग गरेका छन् ।





















































