झापा १९, साउन । कोशी प्रदेशमा दैनिक सरदर चार जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।
कोेशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७९–८० माा दैनिक सरदर चार जनाले आत्महत्या गरेको पाइएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता ऋषिराम कडेकलका अनुसार प्रदेशका १४ जिल्लामा गत वर्ष एक हजार ५ सय ५० जनाले आत्महत्या गरेका छन् ।
कोशी प्रदेशमा आर्थिक वर्ष २०७४–०७५ मा एक हजार १२० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७५–७६ मा एक हजार २३४, २०७६–७७ मा एक हजार ३४४ जनाले आत्महत्या गरेको तथ्यांक छ ।
आर्थिक वर्ष २०७८–०७९ मा एक हजार ४८९ र २०७७–०७८ मा सबैभन्दा बढी एक हजार ५१६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । यसरी आत्महत्या गर्नेहरुमा युवा धेरै रहेका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार गत वर्ष ८ हजार ७ सय १९ वटा अपराधका मुद्दा दर्ता भएका थिए । जसमा २ हजार ७ सय ७३ वटा किनारा लागेका छन् । ५ हजार ९ सय ४६ मुद्दा फर्च्यौट हुन् बाकीँ छ ।
गत वर्ष ३ सय ६५ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । प्रदेशभर भएका ३ हजार ५ सय ३२ वटा ठूला–साना सवारी दुर्घटनामा ५ हजार ६ सय ६९ जना मानिस घाइते भएका छन् ।
ट्राफिक नियम उल्लंघनमा ३ लाख १ हजार ७ सय ४९ सवारी कारबाहीमा परेको छन् । ति सवारीबाट प्रहरीले २३ करोड ४८ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
प्रहरीले भन्सार चोरी निकासी पैठारीतर्फ २६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । भन्सार छली गरी निकासी–पैठारी गर्ने क्रममा एक सय जनालाई पक्राउ गरेको प्रहरीको तथ्याङ्क छ ।





















































