झापा । साउदी अरेबियामा रेसिडेन्सी, श्रम र सीमा सुरक्षा कानूनलाई लक्षित गर्दै एक हप्ता लामो निरीक्षण अभियानको क्रममा २२ हजार ५५५ जना आप्रवासी कामदार पक्राउ परेका छन्। उनीहरू सबैले श्रम र रेसिडेन्सी कानून उल्लङ्घन गरेकाले पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उल्लङ्घनहरूमा आवास कानूनसँग सम्बन्धित १४ हजार २६० , सीमा सुरक्षासँग ४ हजार ९५४ र श्रम नियम उल्लङ्घन गर्ने ३ हजार ३४१ रहेको जनाएको छ। अधिकारीहरूले अवैध रूपमा राज्य प्रवेश गर्ने प्रयास गर्ने १ हजार ७ सय व्यक्तिहरूलाई हिरासतमा लिएको जनाएको छ भने गैरकानूनी रूपमा देश बाहिर निस्कन खोज्ने ८१ जना पनि पक्राउ परेका छन् ।

अवैध प्रवेश, ढुवानी, आश्रय वा नियम उल्लङ्घन गर्नेलाई काममा सहजीकरण गर्ने २४ जनालाई पनि नियन्त्रणमा लिएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धड्पड अभियान तीव्र पारेसँगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

साउदी पुगेका साउदी जेलमा ६१५ नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेका छन्।

यसैगरी,साउदीमा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ६३ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ६३ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।