झापा । बलात्कार घटनामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धानमा चरम लापरबाही गरेको पाइएको छ । गत कात्तिक २२ गते दर्ता भएको जबरजस्ती करणी सम्बन्धी मुद्दामा काँकडभिट्टा प्रहरीले अनुसन्धानमा शङ्कास्पद गतिविधि देखाएको पीडित पक्षले आरोप लगाएको छ ।
गत कात्तिक १७ गते मध्यराति मेचीनगर नगरपालिका–१ गाडागल्लीका ३२ वर्षीय गङ्गाराम बास्कोटाले स्थानीय प्रजल देवानको सहयोगमा आफूमाथि बलात्कार गरेको भन्दै एक युवतीले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जाहेरी दिएकी थिइन । जाहेरी परे लगतै उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
तर, प्रहरीले अनुसन्धानको क्रममा गर्नुपर्ने प्रमाण सङ्कलन नगरेको, पीडितलाई अभियुक्तसँगै एउटै गाडीमा खाँदेर स्वास्थ्य परीक्षण गर्न लगेको र घटनासँग सम्बन्धी सबैलाई कागज नगराई प्रहरीले मुद्दा कमजोर बनाई जिल्ला सरकारी वकिल कार्यालय भद्रपुरमा पेस गरेको पीडित पक्षको दाबी छ ।
पीडित युवतीले आफूमाथि बास्कोटाले जबरजस्ती बलात्कार गरेको र त्यसका कारण शरीरका विभिन्न भागमा चोट लागेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी मिङबहादुर लामा र अन्य अनुसन्धान अधिकृतलाई समेत बताए पनि स्वास्थ्य परीक्षणको क्रममा प्रहरीले उक्त कुरा लुकाएको बताएकी छिन् ।
’घटनाको बेला लगाएको कपडा आफूसँग सुरक्षित रहेको प्रहरीलाई जानकारी गराएको हो,’ उनले भनिन्, ’प्रमाणका लागि उक्त कपडा प्रहरीले जाँच गरेनन्, त्यति मात्र नभएर पीडित र पीडक दुवैलाई प्रहरीले एउटै गाडीमा कोचेर काँकडभिट्टाबाट मेची प्रादेशिक अस्पताल भद्रपुर लगेर स्वास्थ्य परीक्षण गरायो ।’
कानुनतः बलात्कार जस्तो जघन्य अपराधको घटनामा पीडकबाट थप पीडा नदिन पीडितलाई उसको सम्पर्कमा नजाने व्यवस्था मिलाइएको हुन्छ । युवतीमाथि बलात्कार भएको जानकारी प्राप्त गर्ने पहिलो प्रमाणको रुपमा देखिएको व्यक्तिलाई समेत प्रहरीले कागजै नगराई मुद्दा कमजोर बनाएर चलखेल गरेको पीडितका आफन्तजनहरू बताएका छन् । केही व्यक्तिसँग मिलेर प्रहरीले आरोपीलाई छुटाउने चलखेल गरिरहेको छ । अनुसन्धानको क्रममा खुलेका गोप्य तथ्य समेत पीडक पक्षलाई जानकारी गराइएको र युवतीको मान प्रतिष्ठामा आँच आउने किसिमको गतिविधि प्रहरीबाटै भएको पीडितका आफन्त बताउँछन् ।
पीडकका परिबार र स्थानीय केही युवा झापा जिल्ला अदालतमा समेत मुद्दा कमजोर बनाउन विभिन्न शक्ति केन्द्रहरू धाइरहेको बुझिएको छ । जाहेरी दर्ता गर्न काँकडभिट्टा प्रहरीमा जाँदा देखी नै प्रहरीको व्यवहार पीडित मैत्री नभई पीडकमैत्री भएको आफूले महसुस गरेको पीडित युवतीले गुनासो पोखेकी छिन् । प्रहरीले अनुसन्धानको क्रममा गरेको गम्भीर त्रुटिहरूको बारेमा पीडित युवती र उनका आफन्तले जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला प्रमुख न्यायधिवक्तालाई भेटेर जानकारी गराइसकेको छ ।
यता इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी लामालाई अफिसियल नम्बरमा पटक–पटक कल गर्दा उठेन । प्रहरीले अनुसन्धान सकेको भन्दै गत कात्तिक १३ गते नै सरकारी वकिल मार्फत मुद्दाको मिसिल अदालतमा बुझाएको छ । १४ गते जिल्ला न्यायधिस ऋतबहादुर पुलामी मगरको इजलासमा परेको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।