विर्तामोड । दुई दशक यता आँखाको उपचार गर्दै आएको मेची आँखा अस्पताल शैनिकमोडमा कानको उपचार सेवा थपिएको छ । लामो समयदेखि आँखाको उपचार गर्दै आएको समुदायद्वारा सञ्चालित मेची आँखा अस्पताल सनिकमोडमा कानको उपचार सेवा समेत थपिएको हो । उपचार सेवाका लागि बिर्तामोड नगरपालिकाका मेयर पवित्रादेवी महतारा प्रसाईंले सोमबार रिवन काटेर शुभारम्भ गरिन् । आँखा अस्पतालभित्रै कानको उपचार गर्ने प्रबन्ध मिलाइएको अस्पतालका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । उनले सर्बसाधारणले सुलभ शुल्कमा उपचार सेवा लिउन् भन्ने उदेश्यले कानको उपचार सेवा थप गरिएको जानकारी दिए । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पुरुषोत्तम जोशीले प्रत्येक १ हजार जनामा ८२ जनाको आँखामा समस्या आउने गरेको बताए । त्यसैगरी १ हजार जनामा ५२ जनामा कानको समस्या रहने गरेको जानकारी दिए । आँखा र कानको उपचार सम्बन्धित बिराम भएको हुनाले कानको उपचार सेवा थप गरिएको उनको भनाई थियो । यसअघि कानको उपचारका लागि आउने बिरामीलाई अन्यत्र रेफर गर्ने गरिएको उनले जानकारी दिए । अब दक्ष जनशक्तिको संलग्नतामा उपचार सेवा सुरु गरेपछि यो सेवा अस्पतालमै उपलब्ध हुने बताइएको छ । निकट भविष्यमा कानको उपचारका लागि थप सेवा पनि सुरु गर्ने अस्पताल सञ्चालक समितिका सचिव गणेश पोखरेलले बताए । बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकीले आफनो वडामा रहेको अस्पतालले सुविधा थप गर्नु वडाका लागि गौरवको कुरा भएको बताए । उनले अस्पतालले बिपन्न समुदायका बिरामीका लागि उपचारको पहुँच पुर्याएकोमा प्रशंसा समेत गरेका थिए ।