काठमाडौँ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘नेपाल र भारतबीचको भन्सार दर एउटै बनाउन १० प्रतिशत गर्ने निर्णय भएको छ,’ उनले भने, ‘भन्सार दर घटाउने निर्णय भए पनि सार्वजनिक गरिएको छैन ।’
आर्थिक वर्ष ०८१/८२ को बजेटमा सरकारले भन्सार दर ५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको थियो । भन्सार बढेपछि व्यवसायीले घटाउन माग गर्दै आएका थिए । केही महिनाअघि नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर भन्सार दर समायोजन गर्न आग्रहसमेत गरेको थियो ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले पनि यसको पुष्टि गरे । ‘सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० र चाँदीको १५ बाट १० प्रतिशत कायम गरिएको छ,’ भट्टराईले भने । भारतले आफ्नो बजेटमार्फत सुनचाँदीमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । नेपालले भने चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर ५ प्रतिशतले वृद्धि गरी २० प्रतिशत पुर्याएको थियो । यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो ।
खुला सीमाका कारण भन्सार दरबीच असन्तुलनले अवैध कारोबारले प्रोत्साहन पाएको महासंघले जनाएको थियो । भन्सार दरबीच भएको असन्तुलनले अवैध कारोबार हुने भन्दै भन्सार दर ८ प्रतिशत कायम गर्नुपर्ने महासंघले सुझाएको थियो । मन्त्रिपरिषद्ले १० प्रतिशत कायम गरिदिएको हो । सुन आयातको भन्सार दर घटेसँगै उपभोक्तालाई केही राहत भएको छ ।
नेपाली बजारमा प्रतितोला १२ हजार रुपैयाँसम्म मूल्य घट्न सक्ने महासंघअन्तर्गत मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जनाए । ‘वाणिज्य बैंकहरूले तिहारताका ३२ किलो सुन आयात गरेका थिए, अब एक/दुई किलो बाँकी होला । वाणिज्य बैंकहरूले नयाँ सुन आयात गर्दा नयाँ भन्सार दर लागू हुन्छ, त्यसपछि मात्रै नयाँ मूल्य लागू हुन्छ,’ शाक्यले भने ।
अहिले कोटा प्रणालीअनुसार वाणिज्य बैंकलाई मात्रै सुन आयातको अनुमति छ । बैंकहरूले दिनको २० किलो सुन बिक्री गर्न पाउँछन् । त्यो सुन बिक्री गर्न सरकारले ‘सुन बिक्रीवितरण कार्यविधि/निर्देशिका २०६८’ समेत बनाएको छ । तर सुनको भाउले कीर्तिमानीमाथि कीर्तिमानी बनाएको छ । जसले गर्दा बैंकहरूले कम मात्रामा मगाएका छन् । अब आयात हुने सुन भने भन्सार दरकै कारण केही सस्तो हुनेछ ।
भन्सार दर १० प्रतिशतभन्दा कम हुँदा व्यावहारिक हुँदैन । सीमा क्षेत्रभन्दा नेपालमै सस्तो हुन्छ । अन्ततः सुन भारत जान्छ । केही गहना व्यवसायी भने अहिलेकै भन्सार दरले पनि सुन तस्करी हुने आकलन गरेका छन् । नेपाल र भारतबीचको मूल्य सन्तुलनमा राख्दा भन्सार दर १५ प्रतिशत उचित रहेको एक गहना व्यवसायीले बताए । ‘सरकार र समग्र व्यवसायीको हितका लागि भन्सार दर ५ प्रतिशत मात्रै घटाए पुग्थ्यो । नेपालमा १५ प्रतिशत हुँदा नेपाल र भारतको मूल्य उस्तैउस्तै हुन्छ,’ ती गहना व्यवसायीले भने, ‘सरकारको राजस्व उठ्ने र नेपालबाट तस्करी पनि नहुने । तर १० प्रतिशत हुँदा नेपालबाट भारत जाने सम्भावना छ ।’ कान्तिपुरबाट