झिल्झिले । झापामा सवारी दुर्घटनामा परी घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक १६ गते साँझ ६.१० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ कृष्ण मन्दिरनजिक काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्र १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकल यात्री शिवसताक्षी–८ बस्ने अन्दाजी ६१ वर्षीय गणेश खड्कालाई ठक्कर दिएको थियो । घाइतेको बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज बिहान अन्दाजी ५ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

दुर्घटनापछि बस र बस चालक धनकुटा चौबिसे गाउँपालिका–३ सोगुम बस्ने ४३ वर्षीय शुकबहादुर लिम्बूलाई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुशील थापा मगरले बताए ।

त्यस्तै सोही कात्तिक १६ गतेका दिन साँझ ६.३० बजे झापा गाउँपालिका वडा नम्बर ६ किरात चौकस्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको पनि आज बिहान मृत्यु भएको छ । सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ७ प ५७५९ नम्बरको १५० मोटरसाइकलले पैदल यात्री सोही ठाउँ बस्ने वर्ष ४० वर्षीय कमनसिंह लिङ्खा र उनका ७ वर्षीय छोरा अस्मिन लिङ्खालाई ठक्कर दिएको थियो ।
दुवै जना घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । घाइते बालक अस्मिनको उपचारका क्रममा आज बिहान ५ः१० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक झापा गाउँपालिका-४ लसुना बस्ने २५ वर्षीय सुरजप्रसाद गणेशको शरणागति हेल्थ केयरमा उपचार भइरहेको छ भने मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने २३ वर्षीय संजितकुमार गणेश सकुशल रहेका छन् । प्रहरी चौकी शरणामतिले मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले जानकारी दिए ।