• रुद्र मल्लाजी 

                      IMG_20240810_090520  झण्डैं दुई वर्ष पहिला एकजना प्राध्यापकले एकदिन चिया गफमा भने, ‘हाम्रो क्षेत्र (साविक धौलागिरी) मा सहकारीको भावनाले सहकारीमा आवद्ध भएका सदस्य ५ प्रतिशत पनि छैनन् ।’ उनको यो कुरा सुनी रहेका एकजना सहकारीकर्मी भड्के र उनले भने, तपाईको यो भनाइमा सत्यता छैन । उनले थप प्रतिवाद गरे, सहकारी सदस्यहरुको हो, सदस्यहरुले नै हो सहकारी जोगाउँने, सहकारीको मर्म र भावना सदस्यहरुलाई धेरै थाहा छ ।

२०८० बैशाख ७ गते बागलुङको इमेज सहकारीले तरलता नभएको भन्दै जब कार्यालय बन्द गर्यो, त्यसपछि इमेजमा मात्रै होइन, बागलुङ, पर्वत र म्याग्दीका धेरै सहकारीमा शेयर सदस्य बचतकर्ताहरुले आफ्नो रकम निकाल्न संस्थालाई दवाव दिए ।

विशेष गरी भुकम्पको केन्द्र बिन्दु (सहकारीको भुकम्प) रहेको बागलुङका सहकारी संघसंस्थाहरुलाई त्यति बेला निकै गाह्रो भयो । यद्यपी, जिल्ला सहकारी संघ लगायत सहकारी अभियानकर्मीहरुले त्यो बेला भुकम्पको महाकम्पनलाई थाम्ने योजना बनाए, खटे, सबैलाई अनुरोध गरें, तत्कालको संकटबाट जोगिए, आज पनि निरन्तर संघर्ष गरेरै भए पनि सहकारीलाई जोगाइ रहेका छन् ।

२ वर्षपछि गत हप्ता तिनै सहकारीकर्मीसँग फेरी चिया पिउने मेसो जुर्यो र यो पंक्तिकारले त्यहीँ प्रश्न सोध्यो, कि सहकारीमा खास सदस्य अर्थात् सहकारीको मर्म अनुसार सदस्य भएकाहरु कति प्रतिशत होलान् ?
चिया गफसँगै ती सहकारीकर्मीले हामीलाई सुनाएको कुरा यस्तो छ ।

सहकारीमा सदस्य भएकाहरु मध्ये केही त टाढा बाठा देखिए, उनीहरुले सहकारीको नाममा कमाउने योजना बनाए, जसका कारण सहकारीमा समस्या आयो । सदस्य बन्ने अरुहरुको अवस्था चाहीँ धेरैको ऋण चलाउने भन्ने देखियो । वित्तीय क्षेत्रको संकट र सहकारीहरुमा आएको समस्याका कारण सहकारीहरुले जब ऋण दिन छोडे, तब ती ऋणका लागि मात्रै सदस्य बनेकाहरुको खास हविगत देखिन थाल्यो, दिनका दिन शेयर फिर्ताको निवेदन लिएर संस्थामा जान थाले ।

दोस्रो प्रकारका सदस्यहरु ब्याजको लोभले सदस्य बनेका वा कतिपय संस्थामा सदस्य नै नबनी बचत गरेको पाइयो । संस्थाले राम्रो ब्याज दिने भएपछि ब्याजको लोभमा परेर बचत गरेका धेरै छन् । संस्थाको अवस्था अनुसार शेयर सदस्य नबनी बचत गर्न नपाइने संस्थामा थोरै भए पनि शेयर खरिद गरे, होइन भने झ्वाम्मै बचत गरे । इमेज सहकारीमा शेयर सदस्य नभएका धेरैको बचत रहेको पछि देखियो ।

अर्का एकथरी सहकारीलाई विश्वास गर्ने सदस्यहरु रहेछन् । जसले यो संकटमा पनि सहकारीलाई जोगाइ राखेका छन् । साथीले भन्दै गए, खासमा सहकारीलाई जोगाउनपर्छ भन्नेहरु ५ प्रतिशत त होइन, १५ देखि २० प्रतिशत मात्रै होलान्, उनले सुनाए ।

ऋणका लागि सदस्य बनेकाहरु र बचत गरेर ब्याजका लागि सदस्य बनेकाहरु जस्तै शेयर टन्न हालेर नाफा कमाउनेहरु पनि प्रशस्त भेटिए, आज सहकारीले लाभांश कम दिने भएपछि तिनीहरु पनि शेयर फिर्ताको निवेदन दर्ता गर्न तछाड-मछाड गरिरहेका छन् ।

सहकारीमा लागेर धेरै कमाउने योजना बनाएका साहुकारी सञ्चालकहरु, सहकारीमा धेरै शेयर खरिद गरेर लाभांश खान पल्केका सदस्यहरु, सहकारीबाट ऋण लिनकै लागि सदस्य बन्ने ऋणचिन्तेहरु र ब्याज कुम्ल्याउन पल्केका तिल्केहरु सबै सहकारीका संकट हुन्, सहकारीलाई कमजोर बनाउने, सहकारीलाई राम्रो हुन नदिने यस्ता धुन्नकारीहरुको संख्या ८० प्रतिशत भन्दा बढी छ, अनि कसरी सहकारी उभो लाग्छ ? ति सहकारीकर्मीले चिया गफसंगै सुनाए ।

अझै उनले अगाडि भने, २०८० बैशाखमा हाम्रो क्षेत्रमा सहकारी संस्थाहरुलाई ठुलै समस्या भयो, विशेष गरी शिवशिखर र इमेजको समस्यापछि शेयर सदस्य बचतकर्ताहरुले सहकारी संस्थामा राखेको रकम एकैचोटी झिक्ने, संस्थामा निरन्तर दवाव दिने, बचत फिर्ता नगर्ने हो भने उजुरी गर्छु भन्ने जस्ता कुरा धेरै भए ।

त्यो सबै कसले गरेको देखियो भन्दा पहिलो त शेयर राखेर लाभांशको लोभमा परेका सदस्यहरु, ऋणकै लागि सदस्य बनेकाहरु र ब्याज बढी पाउने लोभमा सदस्य बनेकाहरुकै कारण समस्या सिर्जना भयो । विगतमा आफुलाई अप्ठेरा पर्दा, साह्रो गाह्रोमा सहकारीलाई उपयोग गरेका, सहकारीबाट मनग्गे लाभ लिएकाहरु नै सहकारीको विरोधमा उत्रिएको देखियो । सहकारीको माध्यमबाट धनी भएकाहरु, विदेश गएकाहरु, कमाएकाहरु सहकारीको खास विरोधी देखिए ।
सहकारीकर्मीहरु सबै ठग हुन् भन्ने भाष्य निर्माण गर्नमा यस्तै यस्तैको भूमिका धेरै छ ।

सबै सहकारी संस्थाहरु इमेज जस्ता पनि छैनन् र सबै सहकारीकर्मीहरु देव कुमार जस्ता पनि छैनन्, किनकी सहकारीमा जम्मा भएको पैसा आफ्नो निजी जग्गा, घर, बंगाला, कम्प्लेक्स बनाउन, गाडी किन्न प्रयोग गरेका छैनन्, तर धेरैले एउटै नजरले हेरे, एक खालको गलत भाष्य तयार गर्न खोजियो ।

सहकारी भन्दा बाहिरका मान्छेहरु त सहकारीको विरोधमा थिए नै, जो सहकारीबाट लाभ लिएका थिए, उनीहरु पनि सहकारी सिध्याउँने अभियानमा कम्मर कसेर लागे । पहिलो, सहकारीमा शेयर थुपारेर विगतमा नाफा बढी लिएकाहरु अब सहकारीले नाफा दिन सक्दैन भनेर शेयर फिर्ताका लागि दवाव दिन थाले, सहकारीका सञ्चालक कर्मचारीलाई मेरो शेयर फिर्ता दिने होइन भने उजुरी गर्छु, हल्ला गर्छु अनेक कुरा भने । जसका कारण सञ्चालक कर्मचारीहरु दवावमा परे ।
दोस्रो, सहकारीमा ब्याज बढी पाउने लोभले बचत गरेकाहरुले आफ्नो पनि बचत डुब्छ कि ? भन्ने डरले भटाभट बचत फिर्ता गर्न थाले, आवधिक रुपमा राखेको बचतको पनि ९० प्रतिशत ऋण माग्न थाले, संस्थाहरुलाई यिनीहरुले झन धेरै तनाव दिए ।

तेस्रो, सहकारीमा ऋण लिनका लागि सदस्य बनेकाहरुले सहकारीले अब ऋण दिदैन भन्ने लागेपछि शेयर फिर्ताका लागि दवाव दिए, दवाव मात्रै दिएनन्, उजुरी गर्ने, बचतकर्तालाई उक्साउने, भड्काउने काम गर्न थाले ।
चौथो, ऋण लगेका ऋणी सदस्यहरुमा पनि सहकारी बन्द भइहाल्यो भने ऋण तिर्न पर्दैन कि ? भन्ने आस पलायो, त्यसैमाथि दुर्गा प्रसाइको अभियान आएपछि त कतिपय अधिवक्ता भइसकेका, समाजमा प्रतिष्ठा कमाएकाहरु समेत ऋण मिनाहा अभियानको अभियन्ता बन्न थाले ।

२ वर्ष पहिला सहकारीका सदस्यहरुको पक्षमा वकालत गर्ने ति सहकारीकर्मीले यसरी सहकारीका सदस्यहरुको वर्गीकरण गर्न थालेपछि, उनको कुरा सुन्दै, आडैमा चिया पिइरहेका एकजना साथीले सोधे, के सहकारीमा असल सदस्यहरु छदै छैनन त ?

उनले फेरी भन्दै गए, मैले अघि पनि भने १५ देखि २० प्रतिशत सदस्यहरु असल रहेछन्, तिनैले यो क्षेत्रका सहकारी धानिदिएका छन् । तिनकै कारण थप सहकारीहरुको संकट बाहिर आएको छैन, तिनै सदस्यहरुले समस्या बुझिदिएका कारण अझै पनि सहकारीप्रतिको आशा मरेको छैन ।

असल सदस्यहरुले संस्थासंग समन्वय गरेका छन्, तालिका बनाएर बचत फिर्ता गरेका छन्, ऋण असुली अभियानमा सहयोग गरेका छन्, ऋण लगेको भए, समयमा ब्याज र किस्ता भुक्तान गरेर सहयोग गरेका छन्, सदस्यहरुबीचमा सहकार्य गरेका छन् ।

विगतमा सहकारीहरुले सहकारी शिक्षा, तालिम, अन्तरक्रिया, गोष्ठी, छलफल गर्दै आएका थिए, त्यसको प्रभाव बढीमा २० प्रतिशतमा परेको रहेछ, सहकारी मेरो हो, मैले साथ नदिए सहकारी चल्दैन भन्ने मान्छेहरु एकदमै थोरै रहेछन्, विद्वान मित्रले परार साल यही कुरा गर्दा मैले प्रतिवाद गरेको थिए, तर उहाँको कुरा सत्यको धेरै नजिक रहेछ भन्ने कुरा पछिल्लो करिव डेढ वर्षको अनुभवले देखायो ।

यो सबै कुराको मुख्य दोषी चाही को हो त ? वरिपरी सुनेर बसेकाहरुले पनि प्रश्न गर्न थाले । सहकारीकर्मी मित्रले अलि मलिन स्वरमा भने, यसको मुख्य दोषी हामी सहकारीका सञ्चालक, कर्मचारी हौ ।

किनकी, हामीले सदस्यलाई बुझाउन सकेनौ वा बुझेको सदस्य बनाउन सकेनौ, ब्याजको लोभमा संस्थामा आएर हामीलाई हौस्याउने सदस्यलाई खादा माला र सम्मानको ओइरो लगायौ, ऋणका लागि सदस्य बन्नेहरुले ऋण लगिदिएकोमा खुशी भयौ, ऋण कसरी तिर्छ, उसको अरु तिर कति सहकारीमा, कति बैंकमा र कति व्यक्तिहरुसंग ऋण छ भन्ने कुरा पनि हामीले बुझेनौ, शेयर लांभाशका लागि लाखौ शेयर खरिद गर्नेहरुलाई असल, उत्कृष्ट लगायत के के उपमा दिएर सम्मान गर्यौ ।

राम्रोसंग चलाएका सहकारीहरुको साधारणसभालाई यसो सम्झनुस् त ? हामीले के गर्यौ, त्यही ब्याजको लोभमा करोड राख्नेलाई, लाभांशका लोभमा लाखौको शेयर खरिद गर्नेलाई अनि ऋण धेरै लगेकोलाई उत्कृष्ट, सर्वोत्कृष्ट भनेर दोसल्ला ओढाएर सम्मान गर्यौ । कठैबरा जव सहकारीलाई संकट आयो, हो तिनै दोसल्लाधारी सदस्यहरु अग्रपंक्तिमा उभिएर सहकारीको सर्वनास गराउन कम्मर कसेर लागे ।

सहकारीमा नियमित सानो सानो बचत गर्ने, सानो सानो ऋण लैजाने, समयमा भुक्तान गर्नेलाई भन्दा पनि ठुलो रकम हेरेर जुन व्यवहार गरियो, त्यसको असर पनि आज देखिदैछ, साथीले भन्दै गए, उनको कुरा सुन्न वरिपरी धेरै मान्छे झुम्मिएका थिए ।

उनले भने २०८० बैशाख ७ गतेपछि करिब ६ महिना धौलागिरी क्षेत्रका सहकारीहरुमा निकै समस्या थियो, तरलता सहकारीले कसरी व्यवस्थापन गरे, सदस्यहरुलाई कसरी सम्झाए बुझाए भन्ने कुरा संस्थै पिच्छे फरक छ । जे भए पनि तिनै असल सदस्यहरुको भरमा, आडमा, भरोसामा, साथमा सहकारीहरु चलिरहेका छन्, यस्तै सदस्यहरुका कारण सहकारीहरु अझै चल्छन् ।

सहकारीलाई संकट परेको बेला आफुले राखेको सबै बचत फिर्ता गर्न दैनिक संस्थामा जाने, आफु नजाने, बुढीलाई पठाउने, आफु नजाने बुढोलाई पठाउने, अरुलाई नै चेक दिएर पठाउनेहरु कत्ति त सहकारीका सञ्चालकहरु नै थिए, अरु पनि थुप्रै थिए । हुँदै नभएको काम देखाएर, छोरा छोरी विदेश पठाउने बहाना गरेर, बिरामीको बहाना गरेर सहकारीबाट कसरी छिटो रकम निकालौ भन्ने त धेरै जसो हिजो सम्मानित भएकाहरु, ब्याज टन्नै खाएकाहरु, लाभांश तोकिएको सिमा भन्दा बढी बुझेकैहरु देखिए ।

सहकारीबाट ऋण लगेको छ, सहकारीलाई संकट आएको बेला ब्याज त तिरीदेउ भन्दा बैंकको, व्यक्तिको ब्याज तिर्ने, घरायसी खर्चमा लाखौ रकम खर्चिने तर संस्थाको ब्याज कत्ति पनि नतिर्नेहरु पनि धेरै देखिए, उनीहरुलाई सहकारी डुबि हाल्छ कि ? डुब्यो भने ऋण तिर्न पर्दैन कि ? भन्ने आशा धेरै देखियो ।

के साच्चिकै यस्तै सदस्यहरु भएको सहकारी हो हामीले चलाउन खोजेको ? अर्का एकजनाको प्रश्न पछि, सहकारीकर्मी साथीले भने, होइन नि ? सदस्यहरुको अप्ठेरोको साथी बनाउन खोजेको हो, तर सदस्यहरु त सहकारीलाई ठटाउनका लागि मात्रै सदस्य भएका रहेछन्, ब्याजका नाममा, लाभांशका नाममा सहकारीबाट फाइदा लिन सदस्य बनेकाहरु पो धेरै रहेछन् ।

सहकारीमा संकट आउदा, संस्थामा तरलता अभाव हुदा, १ हप्ता बचत फिर्ता रोकिदेउ भन्दा बजार भरी फलानो सहकारीले बचत फिर्ता गरेन भन्दै हिड्ने अर्को एउटा सहकारीका अध्यक्ष भेटिए, जसले आफ्नै संस्थाबाट समयमा बचत फिर्ता गर्न सकिरहेका थिएनन् ।

सहकारी सदस्यहरुको हो भन्ने कुरा, सदस्यहरुले नबुझ्दासम्म सहकारीलाई राम्रो बनाउन सकिदैन, यदी ८० प्रतिशत सदस्यले सहकारी बुझ्ने हो भने सहकारीमा समस्या आउँदै आउँदैन, सहकारीमा सदस्यले शेयर रकम, बचत जम्मा गर्ने हो र त्यो रकम सदस्यहरुलाई नै लगानी गर्ने हो ।

यदी संस्थाले सदस्यहरुलाई ठिक ढंगले लगानी गर्ने हो भने त्यो संस्था समस्यामा पर्दै पर्दैन ।

उनले अर्को एउटा व्यवहारिक कुरा पनि सुनाए । यो क्षेत्रका सहकारीहरुमा अलि बढी व्यवहारिकता पनि देखियो, सदस्यको हितमा काम गर्नु पर्छ भन्ने हुटहुटी पनि देखियो । सदस्यलाई संकट पर्दा सहज रुपमा ऋण लगानी गरेको पनि भेटियो, सदस्य हो, समस्यामा साथ दिनु पर्छ भनेर सहकारीले सहज रुपमा ऋण लगानी गर्ने गरेको पनि पाइयो । त्यही ऋण तिर्नका लागि फेरी सदस्यहरुले आलटाल गर्ने, कानुनी झण्झट दिने जस्ता घटनाहरु पनि देखिए ।
समग्रमा भन्नु पर्दा सहकारीका सदस्यहरुले सहकारीलाई फाइदा आउने समयसम्म मात्र प्रयोग गर्न खोज्दा सहकारीमा समस्या आयो, आफु सदस्य भएको, आफुले लामो समयदेखि बचत गरेको, ऋण लिएको, अझै संस्थाका गतिविधिमा नियमित संलग्न भएको मान्छे समेत सहकारीलाई समस्या पर्दा पुरै पन्छिने अवस्थाका कारण पनि समस्या सिर्जना भएको देखियो ।

सञ्चालकहरु विगतमा संस्था राम्रो हुदा लुछाचुडी गरेर पदमा बस्न खोजे, अहिले संकट आएपछि धमाधम राजिनामा गरेको पनि पाइयो । समस्या आएपछि राजिनामा गरेर मात्र सुख पाइएला र ? आफ्नो पालामा भएको गल्ती कमजोरी छ भने त्यसको भारी बोक्न पर्दैन र ? तर पनि मान्छेहरु सजिलामा साथी र अप्ठेरोमा नजाती हुदा रहेछन्, यो करिव डेढ वर्षमा धेरै कुरा बुझियो, जानियो, अनुभव गरियो, मान्छे चिनियो, लौ अब समय सकियो, घर तिर हिडियो भन्दै सहकारीकर्मी साथी घर तिर लागे । सहकारी त्यसमा पनि बचत सहकारी कसरी डुब्छ, कुरा सिधा छ, बदमासी भएको छ । आज बदमासी कसले गर्छ भन्दा सहकारीका सञ्चालकले मात्रै गर्छन भन्ने भाष्य जवरजस्ती पार्न खोजिएको छ ।

सहकारीमा बद्मासी सञ्चालकले पनि गरेका छन्, सदस्यले पनि गरेका छन् । ऋण लगेर नतिर्ने सदस्यहरुको बद्मासी हो कि होइन ? समयमा ऋणको किस्ता र ब्याज तिर्न पर्ने हो कि होइन ? भन्ने कुरा मनमनै सोच्दा सोच्दै म पनि घर पुगेछु ।
धन्यवाद, जय सहकारी !