बिर्तामोड । देशका दुई ठुला दलको समीकरणबाट बनेको सरकारको प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झापाबाट पार्टीलाई शसक्त बनाउने उद्घोष गरेको छ । सरकारको नेतृत्व गर्दा पार्टीभित्र उत्पन्न बिमती र जनताको समस्या उजागर गर्दै प्रतिपक्षीमा रहेकै बेला केन्द्रले पार्टी बलियो बनाउन मैदानमा उत्रेको हो ।
जनताका साझा समस्यालाई सम्बोधन नगरी पार्टी रुपान्तरण गर्न नसकिने स्पष्ट बुझेको केन्द्रले आफ्नो एजेन्डा अघि सार्दै अघि बड्ने रणनीति लिएको नेतृत्वको भनाई छ । नेकपा माओवादी केन्द्र झापाले भबिश्यमा सबै वर्ग, समुदायलाई लक्षित कार्यक्रम ल्याउने तयारी गरेको छ भने विभिन्न पार्टीमा नेतृत्व गर्दैआएका कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्ने कार्यक्रम समेत गरेको छ ।
आगामी साउन १९ गते झापाको बिर्तामोडमा अन्य पार्टी परित्यागपछि माओवादी केन्द्रमा समाहित हुने ५०० भन्दा बढीलाई स्वागतसहित प्रवेश कार्यक्रमको तय गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका उपसचिव हरिबोल गजुरेलले नवप्रवेशीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । पत्रकार भेटघाटमा पार्टीका कोशी प्रदेश इन्चार्ज हर्कबहादुर नेम्वाङ (मिक्सो)ले आमजनताको समस्या उजागर गर्न पार्टी सच्चिनुको विकल्प नभएको समेत उद्घाेष गरे ।
उनले अहिलेसम्म जनताले प्राप्त गरेको उपलब्धिलाई पुर्णता र संविधानमा उल्लेख गर्ने बिषयमाथि धावा बोल्न काङ्ग्रेस र एमाले समीकरणको सरकार बनेको समेत बताए ।
पहिलो र दोस्रो ठुलो दलले गोप्य ढंगले रातको समयमा सरकारको समीकरण गर्नुले तस्करी-बिचौलिया तथा बिदेशीको इसाराको सरकार बनेको उनको बुझाई छ ।
समाज र देशभर माओवादी सरकारमा रहदा भए गरेका उपलब्धि र काङ्ग्रेस- एमालको समीकरणको सरकारपछि जनताले गर्ने अपेक्षाप्रती बहस चलेको बनाउँदै त्यसको जवाफ जनताले दिने माओवादी केन्द्रका झापाका अध्यक्ष राजु आचार्य अग्निले बताए।
नेपाली काङ्ग्रेस-एमाले भर्सेस नेकपा माओवादी केन्द्र अभियान सुरु भएको समेत अध्यक्ष आचार्यले भनाई थियो ।
सम्मेलनमा प्रदेश उपाध्यक्ष बिजय साम्पाङ, डिल्लीराम घिमिरे (हिक्मत), जिल्ला नेता भवानी दङ्गाल लगायतको सहभागिता रहेको थियो ।