झापा । झापा अर्जुनधारा -८ का प्रोफेसर कृष्णप्रसाद ओलीलाई सरकारले चीनका लागि नेपाली राजदूतका रुपमा सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले ओलीलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । नेपाली राजदूत माओवादी केन्द्रका विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर ओलीलाई सिफारिस गरेको हो । ओली प्रकृति संरक्षण कोषका अध्यक्ष हुन् ।
उनी वातावरण कानुनसम्बन्धी जानकार हुन् । आइयुनसिएन, इसिमोडजस्ता अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेका थिए ।
उनी चीनको सिचुवान युनिभर्सिटीका भिजिटिङ प्रोफेसरको रुपमा पनि लामो समय काम गरेका व्यक्ति हुन् । राजदूत सिफारिस भएका ओलीसँग विगतमा योजना आयोगको सदस्यको रुपमा पनि काम गरिसकेको अनुभव छ । त्यस्तै अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस गरेको छ ।त्यस्तै भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । शर्मालाई माओवादी–एमाले गठवन्धन सरकारले अघिल्लो महिनामात्रै फिर्ता बोलाएको थियो । सत्ता गठवन्धन फेरिएसँगै काँग्रेस सिफारिसमा नियुक्त भएका शर्मालाई दिल्लीमै निरन्तरता दिने नयाँ निर्णय भएको हो ।