प्रकाश उप्रेती
काँकरभिट्टा । झापाको मेची र भद्रपुर भन्सार कार्यालयको असुली निरन्तर घटेको छ । नेपालको ब्यवसाय घट्नु, ब्यवसायी पलायन हुँदैजानू, रोजगारीका लागि सर्वसाधारण पलायन हुँदा आयात घट्नु र भन्सार छलीका घटना बड्नुले त्यसको असर अर्थतन्त्र असुलीमा परेको छ ।देशमा उपभोग्य र खपत हुने सामाग्रीको उत्पादन नहुँदा आयातित वस्तुको मूल्यवृद्धिको असरकै कारण देशमा आर्थिक मन्दी हुनु, वैदेशिक क्रियाकलापमा सर्वसाधारणले मोटो रकम खर्चिनु, देशको अर्थतन्त्रले हालको समस्या निकास खोज्ने प्रयास नगर्नुले पनि अर्थतन्त्र गिरावटको निरन्तरता हो ।
कोभिड-१९ पछि थलिएका उद्योग-ब्यवसायलाई उठाउन बैंकिङ क्षेत्रले अपनाएको अशुलीको नीतिले पनि उद्योग-ब्यवसायमा चरम संकट देखा पर्दैआएको छ । मालपोतको राजस्व राम्रै संकलन गर्दै आएको जग्गा कारोबारमा सरकारले ल्याएको नयाँ नीतिकै कारण त्यो क्षेत्र पनि उदास बनेको छ । जग्गा कारोबारमा देखापरेको समस्याका कारण त्यससँग जोडिएर गरेका ब्यवसाय उठ्नै नसक्ने अवस्थामा पुगेका छन् भने ब्यवसायी पलायन अवस्थामा पुगेका छन् ।जग्गाको ब्यवसायसँगै उद्योग-ब्यवसाय पनि सिथिल हुँदा सर्वसाधारणले दैनिकीमा आंशिक असरको सामना गर्नुपरेको छ । त्यसको प्रत्यक्ष प्रभाव बिदेशबाट आयात हुने उपभोग्य तथा कच्चापदार्थको खपत निरन्तर घट्नु हो । खपत घटेपछि लक्ष्यनुसार भन्सार असुली नहुनु हो ।
झापामा सञ्चालित प्रायः उद्योग कलकारखाना र ठुला प्रकृतिका ब्यवसाय बन्द छन् । सिमेन्ट, इट्टा, भेनियर लगायतका उद्योग कलकारखाना बन्द छन् ।
मिलेमतोमा तस्करी मौलाउनु:
पुर्वको मेची, भद्रपुर भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सम्बन्धित ब्यवसायीको मिलेमतोमा आयातित वस्तुको तस्करी गर्नुले पनि भन्सार राजस्व घटेको पाइन्छ । तस्करीका गिरोहले मेची भन्सार कार्यालय आसपासबाट छली गरी सामान नेपाल भित्र्याउँदा असुली निरन्तर घटेको पुष्टि हुन्छ ।
भारतबाट नेपाल आयात गरिने तयारी वस्तु र कच्चापदार्थ चोरी- पैठारीबाट भित्र्याउने गिरोह सक्रिय हुँदा भन्सार असुलीमा प्रभाव पर्दै आएको छ । तस्करी गर्ने गिरोह सक्रिय भइरहनु र असुलीमा कमी निरन्तर देखिनुले सम्बन्धित निकाय, प्रशासन र नियामक निकायको पनि संलग्नता भएको पुष्टि हुन्छ ।
कतिपय अवस्थामा भन्सारहुँदै छुटेका सामनासहितको मालबहाक सवारी मोरङमा पक्राउ पर्नु, चेकजाँच नै नगरी भन्सार परिषरबाट सवारी पास हुनु, शसस्त्र प्रहरीको चेकिङपछि जनपथ प्रहरीले तस्करी गरेको सामान बरामद गर्नु, इलाका प्रहरीको चेकिङ पासपछि जिल्लाको र अञ्चल प्रहरीले बरामद गर्नु नै संलग्न भएको तथ्यपरक उदाहरण हुन् ।
ससाना र करोडौं मूल्यका मालबहाक ट्रक भन्सार अगाडिबाट सेटिङमा छली हुँदै आएको छ भने लाखौंको सामान बिहान १ देखि ३ बजे र रातिको ११ देखि १२ बजेको समयमा पोके-भरिँया, साइकल, मोटरसाइकल,र सिटी-अटो र मारुती भेनमा ओसार्ने गरिएको विशेष स्रोतको दाबी छ ।
प्रायःयी ठाउँबाट हुन्छ तस्करी:नेपालको सिमानामा सतिघट्टा, राइसिङ पुल, बाहुनडाँगी एरिया, मेची डाँडा, साँधुगौडाको तिरिङ एरिया, बाहुनडाँगी एरिया त्यस्तै भारतको गलगलियालगायतका ठाउँबाट भद्रपुरको मेची पुल आसपास र पाठामारी, गौरिगन्जबाट तस्करी हुने गरेको छ ।
कपडा, बिधुत्तीय तथा मेसिनरी सामाग्री, युरिया मल, खाद्यान्न र तरकारी, सिमेन्ट, जुत्ता-चप्पल, सवारीका पार्ट्स, मटर फलफुललगायत भारतबाट आयात हुने गरेको छ भने नेपालबाट गाईगोरुको सुपारी, चुरोट लगायत तस्करी हुने गरेको प्रहरी अधिकारीहरू नै बताउँछन् ।
असुलीको अवस्था यस्तो छ:
मेची भन्सार कार्यालयले पनि आर्थिक वर्ष २०७९-०८० मा १४ अर्ब ४ करोड ५ लाख ९२ हजार राजस्व सङ्कलन गरेको थियो । जुन लक्ष्यको ७० दशमलव १५ प्रतिशत थियो ।
यस्तै गत आर्थिक वर्ष २०८०-०८१ मा अघिल्लो आर्थिक वर्षको लक्ष्य घटाउँदै १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको ७८.४० प्रतिशत अर्थात् १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भयो ।
भद्रपुर भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८०-०८१ मा १२ करोड ७ लाख ७९ हजार राजस्व उठाउने लक्ष्य लिइएको थियो । तर, भन्सार राजस्व भने ११ करोड ८१ लाख ५२ हजार ६३४ रुपैयाँ असुली भयो ।
मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीको प्रतिक्रिया :`मेची भन्सार पहिला कोइला र सुपारीको कर संकलनका लागि बनेको थियो । हाल कोइला आसमबाट आउनै छोड्यो । सुपारीमा कोटा सिस्टम लागु गरेका कारण घटेको छ । २०७२ सालको भुकम्पपछी बंलादेशबाट आयात नै घटेको छ ।
चोरी पैठारीको बिषयमा नेपाल-भारत ११४ किलोमिटर खुल्ला सीमा पर्दछ । यतिसम्म कि कराइमा भुटुन हालेर पानीट्यान्कीमा तरकारी किन्न जाने नेपाली छन्, त्यसैले प्रभाव त पर्छ नै ।
भन्सार चुहावट नियन्त्रणका लागि भन्सार ऎनले तोकेको दण्ड जरिवाना गरिँदै आएको छ । गत आबमा ७ सय जना विरुद्ध मुद्दा दर्ता गरेका छौं । तिनीहरुलाई एक करोडसम्म बिगो भएकालाई चोरी-पैठारी गरेकै पुष्टि भए बिगोअनुसारको जरिवाना गर्दै आएका छौं भने एक करोड बढीको कारोबार भए अदालत पेस गर्दै दोषी ठहर भए बिगोनुसारको जरिवाना र १ वर्ष कैदको कार्वाही गर्दै आएका छौं । अब देशको अर्थतन्त्र सुधार गर्न तपाईंहरु जस्तो सञ्चारजगतले सचेत गराउनुपर्छ ।´