प्रकाश उप्रेती
आज असार महिनाको शुक्ल पक्षको पुर्णिमा अर्थात गुरु पूर्णिमा वा व्यास पूर्णिमा। आफूलाई शिक्षादिक्षा एवं मोक्षको बाटो प्रदान गर्ने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै आजको दिनलाई मनाउने गरिन्छ। मानव जीवनमा गुरुको महिमा अपरम्पार छ।
जीवनको अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्वकालदेखि चल्दै आएको छ । जीवनमा गुरुको महत्व धेरै रहन्छ। ‘गु’ को अर्थ हुन्छ अंधकार (अज्ञान) एवं ‘रु’ को अर्थ हुन्छ प्रकाश (ज्ञान)। गुरुले अज्ञान रूपी अंधकारबाट ज्ञानरूपी प्रकाश लिएर जाने हुँदा भावी जीवनको निर्माणमा गुरूद्वारा नै मार्गदर्शन हुने भएकोले गुरु जीवनमा अपरिहार्य हुन्छ।
केवल वेदहरुको शिक्षा दिने मात्र गुरु हुदैनन। जीवनमा जसले सहि मार्गदर्शन गर्दछन्,उ जो कोहि भएपनि उसलाई गुरु समान सम्झनुपर्दछ। सनातन संस्कृतिमा हजारौँ वर्ष अगाडि नै गुरु–शिष्य परम्परा अर्थात् गुरुबाट शिष्यमा ज्ञान प्रदान गर्ने अटुट परम्परा चल्दै आइरहेको छ। गुरु बिना मानव जीवन अपुर्ण तथा अन्धकारमय हुन्छ। गुरूले आफ्नो ब्रह्म ज्ञानको माध्यमले आफ्ना शिष्यहरूको जीवनबाट अज्ञानतारूपी अन्धकारलाई दूर गरी ज्ञानरूपी प्रकाशको सञ्चार गरिदिन्छन।
यस दिन महाभारतका रचयीता कृष्ण द्वैपायन महर्षि व्यासको जन्मदिन पनि हो। व्यासको शाब्दिक अर्थ ‘सम्पादक’ हुन्छ। महर्षि व्यासले वेदलाई अलग–अलग खण्डमा बाँडेर ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, नाम, राखी दिए।
महर्षि वेदव्यासले अठार पुराण अनि, उप–पुराणहरूको पनि रचना गरे। ऋषिहरूको खण्डित भइसकेको अनुभवलाई समाज भोग्य बनाई व्यवस्थित गरे। महर्षि वेदव्यासले पंचम वेद महाभारतको लेखन कार्यको शुभारम्भ पनि आजकै दिनबाट गरेका हुन्।
गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः
गुरु साक्षात् परब्रम्ह तस्मै श्रीगुरवे नमः
गुरुलाई नै ब्रह्मा, विष्णु, महेश्वरको रूपमा स्विकारिएको छ अनि ब्रह्मा, विष्णु, महेश भन्दा पनि माथि गुरुलाई साक्षात् परब्रम्ह भनिएको छ। गुरूलाई ब्रह्मा भनिएको छ किनभने गुरूले शिष्यको भविष्य बनाउछन्।
गुरूलाई विष्णु भनिएको छ किनकि गुरूले शिष्यको, पालन अनि रक्षा गर्छन् ।
गुरूलाई महेश्वर भनिएको छ किनभने गुरूले शिष्यहरूको खराब पक्ष एवं विकारहरूको संहार गर्नुहुन्छ र, ज्ञानमय प्रकाश (सत्बुद्धी) प्रदान गर्नुहुन्छ अर्थात गुरूले शिष्यहरूको दुर्गुण हटाएर सत्मार्गको राजमार्गमा हिँडाउछन् ।
गुरुलाई साक्षात् परब्रम्ह पनि भनिएको छ किनकि अन्ततः शिष्य तथा साधकलाई ब्रह्म साक्षात्कार गराइ मोक्षको मार्गमा पुर्याउनमा पनि गुरुको नै अमुल्य योगदान रहेको हुन्छ।
गुरु बिना हामी रुने, कराउने, हास्ने, खाने, मलमुत्र त्याग गर्न सक्ने, बिपरित लिङ्गी संग प्रेममा पर्न सक्ने, आफू र आफ्नालाई माया गर्न सक्ने, छलकपट, ईर्ष्या आदि ब्यवहार गर्न सक्छौं । एक जनावर जस्तो बन्न सक्छौं। यो सन्सार एक चक्रब्युहु जस्तै हो। यो सन्सार रूपी चक्रब्युहुमा सजिलै पस्न त सक्छौं तर निस्किन जान्दैनौं। दुःखमा डुब्न त जान्दछौ तर सुखमा रमाउन सिकाउनु पर्छ।
बिकृति सिक्नु पर्दैन तर संस्कृति सिकाउन ठुल्ठुला महाबिधालय नै चाहिन्छन। हामी सबै संसारिक चक्रब्युँहुमा पस्न जान्ने तर निस्किन नसक्ने अभिमन्यु जस्तै हौं। आज समाजमा जताततै अभिमन्यु नै अभिमन्यु देखिन्छन् आर्थात हामी सबै अभिमन्यु जस्तै भएका छौं।
आजको हाम्रो जिवनका सर्बोच्च उपलब्धिहरुमा जसरी भएपनि (जाल, झेल, कपट,चोरी, बेईमानी, ठगी, भ्रष्ट आदि कार्य बाट भएपनि) छिमेकी भन्दा ठुलो घर बनाउनु, श्रीमतीलाई गहनाको ठुलो भारी बोकाउनु सक्नु, साथिभाइहरु भन्दा राम्रो मोटर चढनु, ज्ञान आर्जन भन्दा पनि फोटोग्राफीका लागि देश बिदेश घुम्नु, आत्मसम्मान पुर्ण कार्य एवं ब्यवहार भन्दा गलत र घृणित स्रोतबाट प्राप्त आर्थिक लगानी गरेरै भएपनि बाह्य सम्मान आदि जस्ता कुराहरु पर्दछन्।
यो यात्राको एउटा अंस मात्रै हो यस्ले तिमिलाई क्षणिक सुखी त बनाउन सक्छ तर कहिल्यै खुसी बनाउन सक्दैन भनेर।त्यसैले जीवनमा गुरुहरुको अपरिहार्यता रहन्छ। मानव जीवनका लागि ब्रम्हा, बिष्णु, महेश्वर जस्ता भगवान भन्दा पनि माथि गुरुहरुलाई त्यसै मानेको होइन। वास्तवमा भगवान त छन् कि छैनन् भन्नेमा धेरैको दुईमत रहला तर गुरुको सन्दर्भमा कसैको दुईमत हुन सक्दैन।
बिरामी हुँदा औषधि खाएजस्तो अर्थात मानव स्वास्थ्यमा डाक्टरले हस्तक्षेप गरेजस्तै गरि हाम्रो आज्ञान, अचेतन मन एवं बुद्धिमा गुरुहरुले हस्तक्षेप गरेर यो बाटो भएन है भनेर आफ्ना वाणी र ब्यवहारले हामिलाई अभिमन्यु बन्नबाट रोकोस त्यो नै गुरु हो।
त्यसैले त भजनको रुपमा भएपनि गाउँने गरिन्छ नि ।
असतो मा सदगमय !
तमसो मा ज्योतिर्गमय!!
मृत्योर्मामृतं गमय!!!
अर्थात, असतो मा सदगमय–असत अर्थात असत्य छ, तर सत्य सिकाउनु पर्छ।
तमसोमा ज्योतिर्गमय–अन्धकारमा डुबेको छ तर, प्रकाश एवं ज्ञानको यात्रामा लैजानुपर्छ। मृत्योर्मामृत गमय–मृत्युबाट अमरत्व तिर हाम्रा सत्कर्मबाट कसरी पुग्न सकिन्छ भन्ने कुराको ज्ञान एवं मार्गमा पुर्याउनु गुरु बिना असम्भव छ। यि मन्त्रहरुको सुँगा रटान त सबैले सजिलै गर्न सक्छन्। तर यि मन्त्रहरुको मर्म ज्ञानलाई आत्मसात एवं बोध गरि यिनले निर्देश गरेको मार्गमा हिड्न सके मात्रै जिवनको सार्थकता हुन्छ। जस्कालागी सबैको जिवनमा एक आदर्श गुरुको अपरिहार्यता रहन्छ। त्यसैले गुरुलाई देव आर्थात गुरुदेव पनि भन्ने गरिन्छ।
एक सच्चा र सक्षम गुरुको अपरिहार्यता जताततै रहन्छ। एक अवोध बालकदेखि रास्ट्र संचालकहरु सम्म। त्यसैले हाम्रो समाजमा परापुर्वकालदेखि एक ब्यक्तिगत गुरुदेखी राजगुरुसम्म गुरुसम्मको ब्यवस्था रहेको पाईन्छ। राजा महेन्द्रले पनि राज्य संचालनका विभिन्न निर्णयहरुमा शिवपुरी बाबासंग सल्लाह लिने गरेका थिए भन्ने सुन्ने गरिन्छ।
उनले विभिन्न स्थापित गुरुहरुका साथै समाजका विद्वान तथा बुद्धिजीवी ब्यक्तिहरु सङ्ग सुझाव सल्लाहका साथै धरातलीय ज्ञानका लागि सामान्य ब्यक्तीको हैसियतमा देश दर्शनमा निस्केको देख्नेहरु छन। त्यसैले होला शाह बंशमा राजा महेन्द्रलाई एक सक्षम राजाको रुपमा उनका आलोचकहरु समेतले मान्ने गर्दछन् । हाम्रो लोकतान्त्रिक ब्यवस्थामा कार्यकारी प्रधानमन्त्री हुँदा समेत राष्ट्रपतिको संबैधानिक ब्यवस्थाको मुख्यकारण पनि सहि मार्ग दर्शन र एक गुरुको भुमिकाकै लागि हो जस्तो लाग्छ।
राष्ट्रको सर्बोच्च (गुरुको) स्थानमा आफ्नु एक सामान्य कार्यकर्ता राख्नु लाई पुरुस्वार्थ ठान्नु र नचाहिँदा अपमानित गरेर डाडा कटाउने जस्ता कार्यले हामी कसरी सुमार्गमा हिंड्न् सक्छौं । त्यसैले आज गुरुले साच्चै गुरु बन्न सक्नु र चेलाले एक सच्चा गुरुको खोजीमा ज्ञान तथा प्रकाशको बाटोमा हिड्न जरुरी छ ।