बाहुनडाँगी । नेपालमा पहिलो पटक ‘जीपीएस एप्स’ संचालनमा आएको छ । पाँच दशकयता बन्यजन्तु हात्तीको बितण्डा भोग्दै आएका बाहुनडाँगी र आसपासका नागरिकलाई सचेतनाको राहत पाउने भएका छन् ।
हात्ती आउँदै छ भन्ने अग्रिम सूचना दिने ‘जीपीएस एप्स’ सञ्चालनमा आएपछि बाहुनडाँगीका नागरिकले पाउँदै आएको सास्ती र तनाव कम हुने अपेक्षा गरिएको छ ।
आहाराको खोजीमा भारतबाट नेपालको बाहुनडाँगी हुँदै प्रवेश गर्ने दर्जनौं हात्तीको आगमन थाहा नपाउँदा हुने गरेको मानवीय र धनजनको क्षति र तनाव कम गर्न प्राबिधिक जडित एप्स मुख्य सुचकको रुपमा रहेको छ ।
हात्ती आउँदै छ भन्ने अग्रिम सूचना दिने ‘जीपीएस एप्स’ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिधिवत रुपमा सञ्चालनमाल्याएका छन् । नेपालमै पहिलोपल्ट मेचीनगर–४ को बाहुनडाँगी बजारमा सञ्चालनमा ल्याइएको एप्सले हात्तीमैत्री वातावरण निर्माण गरेर मानव–हात्तीबीचको द्वन्द्व कम गर्न सघाउ पुग्नेछ ।
समाजका लागि युवा सहकार्य र बर्दियाको उज्यालो नेपालको संयुक्त पहलमा यो प्रविधि नेपालमा पहिलो पटक बाहुनडाँगीमा ल्याइएको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए । यो प्रविधिका लागि इसिमोडले आर्थिक सहयोग गरेको उक्त एप्स बाहुनडाँगीको छोटी भन्सारमा नियन्त्रण कक्ष राखेर सञ्चालनमा ल्याइएको छ ।
प्रविधि जीपीएस प्रणालीमा आधारित भएको उज्यालो नेपालका विज्ञ रमेश नेपाललेबताए । एप्स निर्माणमा १० लाख रुपैयाँ खर्च लागेको बताइएको छ ।
गाउँमा हात्ती आएपछि जोकोहीले यो एप्स खोलेर आफनो लोकेसन एट्याच गर्न सक्छन् । जसका कारण नियन्त्रण कक्षमा साइरन बज्ने व्यवस्था मिलाइएको छ । हात्ती गाउँ पसेको सूचना एप्समार्फत साइरनले दिनेछ ।
यता डिभिजन वन कार्यालयले मानव-हात्तीको द्वन्द्व न्यूनीकरण गर्दै मानवीय र भौतिक क्षति कम गर्न आरआरटीका स्वयंसेवी युवाहरुको समूह परिचालन गरेको छ।
जिल्लामा ३ वटा आरआरटीका स्वयंसेवक युवा समूह तयार गरिएको सव डिभिजन वन कार्यालय धाइजनका प्रमुख कुलचन्द्र भट्टराईले बताए ।
ती युवा समुहलाई डिभिजन वन कार्यालय झापाले परिचालन ब्यवस्थापन गर्ने गरी तयार गरिएको हो । यसअघि स्थानीय र बिदेशी संघसंस्थाको सहयोगमा मानव-हात्तीद्वन्द्व न्यूनीकरणका लागि पहल प्रयत्न हुँदैआएको छ ।
सरकारले हात्तीको उपद्रो रोक्न झापाको पूर्वोत्तर क्षेत्रमा सोलार फेन्सिङ जडान गरेको छ ।
जंगली हात्तीले बढी नोक्सानी गर्ने गरेको थियो तर भारतबाट हात्ती प्रवेश स्थानमा सोलार फेन्सिङ जडान गरिएपछि सुरुसुरुमा हात्ती आगमनमा केही कम भएको थियो । तर, फेन्सि तारवार नभएको ठाउँबाट आगमन गरेपछी पुनः मानवीय र धनको क्षति पुर्याउँदै आएको छ ।
हात्ती नियन्त्रणका लागि सर्वसाधारणलाई लाइट, साइरन, प्रहरी-सेनाको गस्ती टोली, पटका, ग्याटिस लगायत प्रयोग गर्दै आएका छ्न् भने आन्नबाली खाएर नष्ट गरिदिन थालेपछि त्यहाँका कृषकले बाली परिवर्तन गर्दै आएका छन् । अन्न उत्पादन छोडेर सुपारी, मरिच, अम्लिसो, चिया, खुर्सानी, सुठुनी, आलु लगायतका कृषिबाली लगाउदै आएका छन् भने सयौ बिगाह जमिन बाझो रहेको छ ।
हात्तीको आक्रमणमा परी सयौले जन गुमाएका छन् भने दर्जनौं हात्तीको मृत्यु भएको र अर्बौको धनमाल क्षति पुगेको छ ।